६ बैशाख २०८१, बिहिबार

स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक छ : अध्यक्ष थापा


कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता र स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक रहेको बताउनुभएको छ । आज हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा आयोजित कार्यकर्ता भेलामा उहाँले सर्वोच्च अदालतबाट आउने फैसलालाई सत्तारूढ दल, नेपाली कांग्रेस र अन्य दलहरूले सर्वमान्यरुपमा स्वीकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्वाधीनता, सबल तथा समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब सबै राजनीतिक दल उदार एवम् नयाँ ढङ्गले अघि बढ्नुपर्ने र निषेधकोे राजनीति परित्याग गरी पूर्व राजादेखि विप्लवसम्म अट्नसक्ने संसदीय व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष थापाले ‘राष्ट्रमा गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता विदेशीको कार्यसूची भएको विचार राख्दै सो विषयमा नेपालीहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ’ भन्नुभयो । उहाँले अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्यान्डेट नभएको बताउनुभयो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले नेपाली जनताको गरिबी उन्मूलन गर्ने विकासको पूर्वाधारलाई आत्मनिर्भर बनाउने अभियानलाई गतिशील तुल्याउनका लागि प्रदेश सरकारको भूमिका सकारात्मक हुनुपर्ने सुझाव दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !