७ बैशाख २०८१, शुक्रबार

राईले कार्यभार सम्हाले, किन दिँए अख्तियारका कार्यवाहक प्रमुख जोशीले राजीनामा ?

अख्तियारमा ओली र प्रचण्डनिकटको टसल


प्रेमकुमार राई र डा. गणेशराज जोशी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै नक्साल टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् ।

राईसँगै आयुक्त किशोर कुमार सिलवाल र जय बहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् ।

आफू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएर आउने भएपछि उनीले बुधबार राजीनामा दिएका हुन् । अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव भएका थिए भने त्यति बेला जोशी अख्तियारमा आयुक्त थिए ।

२०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउँदै थिए । संविधानमा संवैधानिक निकायका पदाधिकारीले राजीनामा बुझाउनासाथ त्यो स्वीकृत हुने र पद रिक्त हुने व्यवस्था छ ।

नेपाल सरकारको सचिवबाट अवकाश पाएका जोशी अख्तियारमा समेत सचिव भइसकेका थिए । ‘एकेडेमिक’ छवि बनाएका उनी यो अवधिमा विवादमा परेनन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटामा सिफारिस भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई प्रमुख आयुक्तमा सिफारिस नगरेको बुझिएको छ ।

साथै अख्तियारमा ओली र प्रचण्डनिकटको टसल देखिएर जोशी राजीनामा दिएको पनि प्रष्ट देखिन्छ । अख्तियारमा लोकमानसिंह कार्कीको कार्यकालमा गैरसंवैधानिक एवं कानून विपरीत क्रियाकलाप हुँदा मौन बसेको आरोप भने उनीमाथि थियो ।

उनीले राजीनामा दिएसँगै अख्तियारमा अब १ पद रिक्त भएको छ भने जोशीको बिदाई कार्यक्रम आजै हुन लागिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एव‌ंं सूचना अधिकारी वेदप्रसाद भण्डारीले नेपालपत्रलाई जानकारी दिएका छन् ।

तर आयुक्त सावित्री थापा गुरुङले पदबाट राजीनामा दिने तयारी गरेको भन्ने जस्ता समाचार बाहिर आएतापनि उनले भने राजीनामा नदिने संकेत देखिएको छ । नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हाल्दै गर्दा उनी पनि उनलाई स्वागत गर्न र नवनियुक्त प्रमुख आयुक्त राईको कार्यकक्षमा उपस्थित भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !