७ बैशाख २०८१, शुक्रबार

वर्तमान अवस्थाको कारक सत्ताधारीको द्वन्द : अध्यक्ष ठाकुर


महन्थ ठाकुर

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् । राष्ट्रिय इञ्जिनीयर सङ्घको राष्ट्रिय भेलालाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा सङ्कट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप लगाएका छन् ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि परेको सङ्कटकै कारण संसद् विघटन गर्न पुगेको आरोप लगाउँदै प्रधानमन्त्रीले सङ्कट उत्पन्न गरी आफूलाई ठूलो राष्ट्रवादी भन्न रुचाउने र संसद् पुनःस्थापना गर्नेलाई उहाँ ठूलो राष्ट्रद्रोही ठान्नुहुन्छ भने ।

उनले सङ्घीय संरचना प्राप्त भए पनि शासन विभेद् गर्नेहरूको हातमा भएकाले त्यसको प्रतिफल प्राप्त हुन सकेको छैन भने । सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेका कारण देशमा पटक पटक समस्या उत्पन्न हुने गरेको धारणा राखे ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वास गुमाइ सक्नुभएको आरोप लगाए । सङ्घका अध्यक्ष भगवान् झाको अध्यक्षतामा भएको सो समारोहमा जनता समाजवादी पार्टीका नेताहरू शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायतले सङ्कटको समाधानमा सबैको पहल आवश्यक रहेको धारणा राखे ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !