८ बैशाख २०८१, शनिबार

ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठकको निर्णय


केपी शर्मा ओली

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

संसद विघटन लगत्तै प्रचण्ड-नेपाल समूहको नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष चुनेको थियो । ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेर पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहने गरी कारबाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठकले ओली समूहले विसर्जनवादी कोणबाट प्रहार गरेपनि पार्टीको एकीकृत स्वरुप कायमै रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सिंगो देश एक ढिक्का भएको र पार्टीले थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको प्रचण्ड-नेपाल समूहको निष्कर्ष छ ।

बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा गंगालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई जिम्मेवारी दिने निर्णय गरेको छ । माघ ९ गतेको जनप्रदर्शन भव्य रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै सोमबार अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !