१२ आश्विन २०८१, शनिबार

चुनाव चिह्न ‘सूर्य’ मैले नेतृत्व गरेको नेकपाकै हुन्छ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दावी गरेका छन् । नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे ।

“उहाँहरु (प्रचण्ड-नेपाल) केन्द्रीय कमिटीमा बहुमतको कुरा गर्दै पार्टीको नाम र चुनाव चिह्न आफ्नो भन्दै हिँड्नुभएको छ”, उनले प्रश्न गर्दै भने, “कहिलेको महाधिवेशनबाट उहाँहरु बहुमतमा पुग्नुभयो” उनले प्रचण्ड-नेपाल समूहका नेताहरुको बहुमतले पार्टी नाम र चुनाव चिह्नका बारेमा कुनै अर्थ नराख्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना हुनै नसक्ने जिकीर गर्दै आफूले करिब ६४ प्रतिशत जनमतको प्रतिनिधित्व गरेकाले संसद् विघटनको प्रस्ताव उपर अदालतले पुनःस्थापनाको फैसला गर्न नसक्ने बताए । उनले लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने निश्चित देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको बताए ।

उनले आफू नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका बारेमा छिमेकी मुलुकका प्रधानमन्त्री र राष्ट्रपति समेत जानकार हुँदा आफैँ पार्टीका नेताले राष्ट्रिय आकाङ्क्षाप्रति वैरभाव राखेको आरोप लगाए । “भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिले महान् अभियानलाई साकार रूप दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे”, उनले भने, “पार्टीभित्र थाहा नपाएजस्तै गर्नुभयो ।” “नेपाल अहिले अन्तर्राष्ट्रिय समारोहमा आफ्ना आवाज बुलन्द गर्न सक्ने अवस्था पुगेको छ”, उनले थपे ।

उनले कोभिड नियन्त्रणमा सरकारले प्रभावकारी पहल गरिरहेको भन्दै कम्बोडियाले जहाज चार्टर्ड गरेर औषधि पठाएर सहयोग गरेको जानकारी दिए । उनले सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेख्नीय काम गरेको भन्दै सरकारले गरेका काम जनता माझ लिएर जाने बताए । उनले पार्टी एकता भए पनि पार्टी कामको जिम्मा पाएका द्वितीय अध्यक्षले सङ्गठन सुदृढीकरणमा प्रभावकारी कदम नचाली सरकार असफल गराउने काममै केन्द्रित रहँदा पार्टीमा समस्या आएको बताए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड-नेपालले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका लागि षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए । उनले माधव नेपाल नवौँ महाधिवेशनबाट पराजित भएपनि पराजय स्वीकार नगरी प्रतिशोध र कुण्ठा साँधेर ओलीको विरुद्धमा योजनाबद्ध लागेको बताए ।

गृहमन्त्री रामबहादुर थापाले नयाँ जनादेश नै सही मार्गचित्र रहेको औँल्याउँदै गणतन्त्र, सङ्घीयता, समृद्धि र राष्ट्रियतालाई एजेण्डा बनाई निर्वाचनमा केन्द्रित हुने बताए । उनले प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्षमाथि नै कृत्रिम आरोप सिर्जना गरेकाले पार्टी विभाजनको अवस्थामा गएको बताए । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बल्खु र धुम्बाराहीमा रहेको सम्पत्तिमा आफ्नो समूहको रहेको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !