१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ सांसद विद्या भट्टराईको चालू वर्षका योजनाहरु


विद्या भट्टराई

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद विद्या भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत चालू वर्षका योजना सार्वजनिक गर्नुभएको छ ।

सांसद भट्टराईले आज पोखरामा पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा रहेको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु चार करोड बजेटबाट ३० योजना छनोट गरिएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य भट्टराईले चालू वर्षमा नै सम्पन्न गर्न सकिने खालका पूर्वाधार विकासमा केन्द्रित गरेर योजना छनोट गरेको बताउनुभयो । गत वर्ष मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सांसद भट्टराईले आफूले एक वर्षका अवधिमा अल्पकालीन योजना सम्पन्न गर्ने तथा दीर्घकालीन योजनालाई प्राथमिकताका साथ अघि बढाउने कार्य गरेको बताउनुभयो ।

सांसद भट्टराईले पोखरा–७ र ६ जोड्ने मूलखोकमा बन्दै गरेको अपूरो कल्भर्टसहितको पुल निर्माण र रिटेनिङ वालमा रु २५ लाख बजेट छुट्याउनुभएको छ । पोखरा–११ को कालिकाचोक व्यँसघारी सडक स्तरोन्नति, रामघाट परोपकार संस्था किरियापुत्री भवन जाने बाटो स्तरोन्नतिमा रु २५ लाख बजेट विनियोजन गरिएको सांसद भट्टराईले जानकारी दिनुभयो ।

वडा नं ८ को शिवालय मार्ग ढल निर्माण र रक्तसञ्चार केन्द्र पूर्वाधार निर्माणमा रु २०÷२० लाखका दरले विनियोजन गरिएको छ । पोखरा–३३ को खैरेनी सिगारेवास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन निर्माणमा रु २० लाख, वडा नं २० को हरिहर आमा समूह, शिव बहुउद्देश्यीय भवन तथा देवीडाँडा मालिकमार्ग सडकमा रु १५ लाख, मौजा लामडाँडा खेलमैदान र कुरगाउँ सांस्कृतिकस्थल संरक्षणमा रु १५ लाख वडा नं २१ को सेल्टारी कृषि सडक र एकहाते रामदी खानेपानीका लागि रु १५ लाख बजेट छुट््याइएको छ ।

वडा नं ९ मा महेन्द्र मावि र नवप्रभात माविका भौतिक संरचना निर्माणमा रु १० लाख, जलारी समाज भवन, शान्ति दर्शन बहुउद्देश्यीय भवनमा रु १० लाख र शान्ति वनस्थित स्मृति सभाहल र साहारा आधारभूत विद्यालयको स्तरोन्नतिका लागि रु १० लाख तथा जिल्ला ट्राफिक कार्यालयमा पूर्वाधार निर्माणमा रु १० लाख छुट््याइएको छ ।

वडा नं १५ मा फूलबारी मार्ग सडक र अलकापुर मार्ग स्तरोन्नतिका लागि रु १५ लाख दरले बजेट विनियोजन गरिएको छ । वडा नं १७ मा आँखा अस्पतालदेखि रामनगरटोलको सडक स्तरोन्नतिमा रु १५ लाख तथा खरबारी सोतोको भलपानी निकास र जनकल्याण टोल भवनका लागि रु १५ लाख छुट््याइएको छ ।

यसैगरी पोखरा–४ मा बूढानीलकण्ठ बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र गणेश मन्दिर पछाडिको सडक स्तरोन्नतिमा रु १०÷१० लाख विनियोजन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !