काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव नेपालले पार्टी र सरकारमा गम्भीर समस्या देखिएकाले त्यसको समाधान गर्न ढिलासुस्ती गर्न नहुने बताएका छन् । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेता नेपालले प्रदेश र स्थानीय सरकारहरू पनि छाडा भएको पनि बताएका छन् ।
नेपालले बैठकमा भने, ‘तीन तहका सरकार छाडा भएका छन्, गम्भीर समीक्षा गरेर सच्याऔं । ढिलाढाली नगरौं ।’ उनले थप्दै भने, ‘हाम्रा क्रियाकलापले जनता र कार्यकर्तामा निराशा छाएको छ । उनले बैठकमा आफ्ना गल्ती, कमजोरी सबैले स्वीकार्नुपर्ने बताउदै भने, ‘जहाँ गल्ती कमजोरी भएको छ, उसले गल्ती स्वीकार्न तयार हुनुपर्छ र सच्याएर अगाडि बढ्नुपर्छ ।’
नेपालले सरकार पार्टीसँग जवाफदेही र उत्तरदायी हुनुका साथै जनताको भावनालाई सम्मान गर्न सक्नुपर्ने बताएका छन् । उनले पार्टीभित्र देखिएको विवाद र झगडाले पनि जनता र कार्यकर्तामा निराशा छाएको बताएका हुन् । समस्या समाधानमा उदासीन हुने र समय लम्ब्याउने खेलले नेकपालाई बलियो नबनाउने उनको राय थियो ।