११ आश्विन २०८१, शुक्रबार

कांग्रेसका दुई दर्जन नेताहरु पौडेल पक्षमा छुट्टै भेला : ‘नेतृत्वको तदर्थ शैलीले पार्टी हार्‍यो’


ramchandra रामचन्द्र पौडेल

२१ पुस, काठमाण्डौ  ।  निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरूले निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको छ ।

सरकारका निर्णय र पार्टी सञ्चालनमा तदर्थवाद शैलीले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै कांग्रेस नेतृत्वप्रति पौडेल पक्षीय नेताहरूले असन्तुष्टि जनाएका हुन् ।पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको शुक्रबार नक्सालमा निर्वाचन समीक्षा र भावी रणनीति तय गर्न बैठक बसेको थियो ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, महेश आचार्य, बलबहादुर केसीसहित करिब दुई दर्जन सदस्य उपस्थित थिए ।

पार्टीले नराम्रो हार बेहोरेपछि पौडेल पक्षीय १४ केन्द्रीय सदस्यको टोलीले यसअघि पनि पटक–पटक बैठक राखेर निर्वाचन समीक्षा गर्दै आएको थियो । तर ती बैठकमा शीर्ष सदस्यहरू उपस्थित थिएनन् । १४ जनाको उक्त समूहको संयोजन केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गर्दै आएका छन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङलगायत केही युवा नेताले पार्टी नेतृत्व परिवर्तनको बहस चलाइरहेका बेला पौडेल पक्षीय सदस्यहरूले पनि पार्टीको भविष्यका लागि भन्दै निरन्तर नेतृत्व र एजेन्डाका विषयमा छलफल केन्द्रित बनाएका हुन् । यो मुद्दालाई जोडसाथ प्रवेश गराउने तयारी थालेका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !