८ पुस २०८१, सोमबार

हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्री थापाको आग्रह


राम बहादुर थापा

काठमाडौँ, २८ असोज । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली सङ्घ(इयु)का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा इयुले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत देप्रेजले नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिनुभयो ।
उहाँले नेपालको सङ्घीयताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालिएका कदमका सम्बन्धमा गृहमन्त्रीसँग जिज्ञासा राख्दै नेपाललाई इयुले दिँदै आएको सहयोगले निरन्तरता पाउने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !