७ मंसिर २०८१, शुक्रबार

अन्वेषण कार्यको शुभारम्भ


लेखराज भट्ट

बैतडी, १८ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले रोजगारीको सिर्जना गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको शुभारम्भ गर्दै उहाँले खानी तथा खनिज पदार्थको उत्खनन् गरी रोजगारीको सिर्जना गर्न सकिनेमा जोड दिनुभयो ।

उहाँले भन्नुुभयो “अब हरेक क्षेत्रलाई रोजगारीसँग जोडेर अगाडि बढ्नुपर्छ । ” रसायनिक मलका लागि फस्फोराइड अति आवश्यक पर्ने जनाइएको छ । यसै आवश्यकता पुरा गर्न परीक्षणका लागि उत्खनन् शुरुआत गरिएको हो ।

दोगडाकेदार–७ बसौरामा डोलोमाईड चट्टान पत्ता लागे पछि खानी तथा भूगर्भ विभागले रसायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी गरेको हो । यस अघि विभागले यही असोज ५ गते प्राविधिकको टोली वैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविदद्वय कुमार खड्का र भूसुजन देवकोटा लगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि वैतडीको दोगडाकेदार पुगेको थियो ।

गाउँपालिकामा परीक्षण गरिएको स्थानमा फस्फोरस भएको पुष्टि भएमा यस क्षेत्रको आर्थिक समृद्धि र रोजगारीमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !