११ बैशाख २०८१, मंगलबार

सरकार प्रवक्ता भन्छन् – कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले छैन


डा. युवराज खतिवडा

काठमाडौँ, भदौ ११ । अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: र्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । उनले सामाजिक सञ्‍जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि बताएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहीबार कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि जिम्मेवारी दिएकोबारे प्रष्ट पार्न सोधिकएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भने, ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’

खतिवडाले थपे, ‘औपचारिक प्रस्ताव पनि थिएन । त्यस सम्बन्धि छलफल पनि केही भएको छैन ।’ सामाजिक सञ्जालमा आएका कुरा र केही सञ्चार माध्यममा आएका कुरामा सत्यता नभएको उनको भनाइ थियो । कुलमानलाई पुनर्नियुक्ति दिइएको सूचना, लेखाइ र बोलाइमा कुनै सत्यता नभएको उनले बताए ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: र्नियुक्त गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल मार्फत सरकारलाई दबाब आइरहेको छ । भदौ २९ गते कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने दबाब आइरहेको हो ।

मन्त्रिपरिषद्को भदौ ९ गते बैठक बसिरहेको बेला कुलमान घिसिङलाई फेरि जिम्मेवारी दिने निर्णय गरेको भनेर अफवाह फैलिएको थियो । लोडसेडिङ अन्त्य गरेर आम नागरिकको मन जितेका घिसिङको ४ वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ। उनलाई फेरि नियुक्त गरिनुपर्छ भनेर सर्वसाधरणले आवाज उठाइ रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !