१२ आश्विन २०८१, शनिबार

नेकपा कार्यदलले प्रतिवेदन बुझायो : मन्त्रीहरु र मुख्यमन्त्रीहरु हेरफेर हुने


नेकपा कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौँ, भदौ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठन भएको नेकपा कार्यदलले आज बालुवाटारमा प्रतिवेदन बुझाएको छ । आज शनिबार साँझ ४:४५ बजे कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

साउन ३० गते गठित कार्यदलले झण्डै ८ घण्टा बसेको बैठकपछि तयार पारेको प्रतिवेदन सर्वसम्मतिले तयार पारेर प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो । नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो ।

कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शंकर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी ६ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे । कार्यदलमा रहेका पौडेल र पोखरेल प्रधानमन्त्री केपी ओलि निकट, शर्मा र भुसाल दाहाल निकट तथा पाण्डे र रावल नेपाल निकट मानिन्छन् ।

कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउने गरी सहमतिको प्रस्ताव तयार गरिएको बुझिएको छ । प्रतिवेदनमा गरिएको कार्य विभाजन अनुसार केपी ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

यस्तै कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको स्रोतको दावी छ ।

साथै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ । कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयमा छलफल गरेर स्थायी कमिटीले अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने नेकपाका नेताहरुको तयारी छ । गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन ।

नेकपामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो । सोही विवादका कारण पार्टी नै विघटनको अवस्थामा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमा पार्टी र सरकार सञ्चालन गर्न सहमत बनेका थिए ।

नेकपा कार्यदलले प्रतिवेदन बुझायो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !