काठमाडौँ, साउन १९ । पार्टीको आन्तरिक विवाद मिलाउन सहमति खोज्ने उद्धेश्यले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता जारी रहेको छ । हिजो आइतवार झण्डै तीन घण्टा चलेको सकारात्मक छलफलमा दुबै अध्यक्ष छलफललाई निरन्तरता दिन सहमत भएको स्रोतले बताएको थियो ।
आजको वार्तामा पनि नेकपाका सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साक्षी राखेर पार्टीमा उत्पन्न गतिरोध हटाउन प्रयास गर्ने बुझिएको छ । आजको छलफलमा प्रधानमन्त्री ओलीका पक्षबाट नेता सुभासचन्द नेम्वाङ र प्रचण्ड तर्फवाट झलनाथ खनाल समेत उपस्थित भएका छन् ।
साउन १३ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले छलफलका लागि नेता खनाललाई आज पनि साथमा लगेका हुन् । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
नेकपाका उपाध्यक्ष बामदेव गौतमले साउन १३ गते मंगलबार मात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब बढिरहेको परिप्रेक्षमा ओलीले साउन ३ गते शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा यस्तो प्रस्ताव ल्याएका हुन् ।
तर, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका छन् । साथै बरिष्ट नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।
पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्ने बताउँदै आएका छन् ।