६ जेष्ठ २०८१, आइतबार

उपप्रधानमन्त्री पोखरेलसँग अमेरिकी राजदूतको भेटवार्ता


एमसीसीबारे अमेरिकी चासो बढ्यो : रक्षामन्त्री पोखरेललाई भेट्न पुगे राजदूत बेरी

काठमाडौँ, ११ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले आज शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र सरोकारका विभिन्न विषयमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ सङ्क्रामक रोगलाई नियन्त्रण गर्न नेपाल सरकारका तर्फबाट भइरहेका कार्यबारे प्रकाश पार्दै कोभिड–१९ सङ्क्रमणविरुद्ध लड्न संयुक्त राज्य अमेरिकालगायत मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले सङ्क्रमणको नियन्त्रणसँगै आर्थिक तथा सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गर्दै जानुपर्ने चुनौतीका बीच नेपाल सरकारले उच्च सतर्कता अपनाएर कार्य गरिरहेको बताउनुभयो ।

उहाँले सङ्क्रमणलाई जथाभावी फैलन नदिन सीमानाकामा निगरानी बढाइएको विदेशबाट नेपाल आउनेहरु क्वारेन्टिन केन्द्र बस्नुपर्ने व्यवस्था मिलाइएको मास्क लगाएर तथा सामाजिक दूरी कायम गरेर मात्र सार्वजनिक कार्यालयमा काम काज गर्ने व्यवस्था मिलाइएको र पिसिआर परीक्षणको दायरा विस्तार गर्दै लगिएको बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको सङ्ख्यालाई बढ्न नदिन तीनै तहका सरकारले आपसमा समन्वय गरी कार्य गरिरहेको उहाँले राख्नुभयो ।

उपप्रधानमन्त्रीले संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमणका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यसको बाबजुद अमेरिकाले नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि उपलब्ध गराएको सहायताको सराहना गर्नुभयो । वार्ताका क्रममा माननीय उपप्रधानमन्त्री पोखरेलले संयुक्त राज्य अमेरिका र नेपाल दुवै लामो समयदेखि असल मित्रका रूपमा रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिका सरकारले पु¥याएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

राजदूतले बेरीले नेपालले कोभिड–१९ रोगको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गर्दै सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन सामाजिक दूरी कायम गर्ने लगायतका उपायलाई प्राथमिकताका साथ अवलम्बन गर्न उपयोगी हुने कुरा बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको नियन्त्रणका लागि दुवै मुलुकले मिलेर कार्य गर्न आवश्यक रहेको बताउँदै कठिन परिस्थितिका बाबजुद नेपाललाई सहयोग गर्न अमेरिका सदैव तत्पर रहेको कुरा बताउनुभयो । राजदूत बेरीले संयुक्त राज्य अमेरिकाले नेपाललाई विगत ७० वर्षदेखि आर्थिक सामाजिक हित हुने गरी विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तर जारी राखिने विचार व्यक्त गर्नुभयो ।

रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारका अनुसार शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौँस्थित अमेरिकी राजदूतावासका अधिकारीको समेत उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !