३ आश्विन २०८१, बिहीबार

यस्तो छ, काठमाडौं–१ को चुनावी लेखाजोखा


ktm-1

कात्तिक २४, काठमाडौँ । चुनाव नजिकिँदै गर्दा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी सुरु भएको छ । सो क्षेत्रमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेकपा एमाले र नकेपा माओवादी केन्द्रको वाम गठबन्धनबाट अनिलकुमार शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र, नेपाली कांग्रेस बीपीबाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौं–१ मा महानगरपालिकाका १०, ११, २९ र ३१ नम्बर वडामा रहेका पुरानो बानेश्वर, नयाँबानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन् । पूर्वउप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार सिंह, माओवादी केन्द्रको विद्यार्थी संगठनका नेता रहेका वाम गठबन्धनका उम्मेदवार शर्मा र बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रहेका साझा पार्टीका उम्मेदवार मिश्रबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
तीन उम्मेदवारमध्ये यसअघि सोही क्षेत्रबाट दुईपटक निर्वाचित सिंहलाई बलियो उम्मेदवारकारूपमा लिइएको छ । कांग्रेसको मत साझा पार्टीले बढी काटेमा गठबन्धनका उम्मेदवार शर्मालाई निर्वाचित हुन सहज हुने विश्लेषण गरिएको छ । यस्तै, नयाँ व्यक्ति र पार्टीकारूपमा साझाका उम्मेदवार मिश्रले पनि बाजी मार्नसक्ने अड्कल छ ।
उम्मेदवार सिंह र शर्माको पारिवारिक सम्बन्ध नै राजनीतिमा जोडिएको छ । सिंह कांग्रेसका संस्थापक एवं पहिलो जनआन्दोलनका कमान्डर गणेशमान सिंहका छोरा हुन् भने शर्मा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री हुँदा विद्युत्भार कटौती गरेर चर्चा कमाएका जनार्दन शर्माका भाइ हुन् । यो क्षेत्रमा गत स्थानीय चुनावको मतपरिणामलाई विश्लेषण गर्दा थोरै मतअन्तरले विवेकशील साझा पार्टी पहिलो, वाम गठबन्धन दोस्रो र कांग्रेस तेस्रो स्थानमा थियो ।

एकता हुनुअघि स्थानीय तहमा विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले पाएको मत ११ हजार २००, एमाले र माओवादीले पाएको मत १० हजार ९८८, कांग्रेस र राप्रपाले पाएको मत १० हजार ३८२ छ । तर, पछिल्लो समय यो क्षेत्रमा थपिएको पाँच हजार बढी मत कसको पक्षमा जान्छ भन्नेमा पनि अन्योल छ । सफा नगर, हरियाली, सफा नदी, चौडा र धुलोरहित सडकजस्ता योजना ती उम्मेदवारले प्रस्तुत् गरिरहेका छन् ।

कांग्रेसका उम्मेदवार सिंह आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । आफूले सांसदकारूपमा विगतमा यो क्षेत्रको विकासका लागि गरेका काम जनताले प्रत्यक्ष अनुभूति गरिरहेकाले फेरि पनि आफूलाई नै मतदाताले विजयी बनाउनेमा उनी विश्वस्त छन् । काठमाडौंका जनता परिवर्तनमा विश्वास गर्नेे र युवालाई नेतृत्व दिने कुरामा यो जनमतले साथ दिने विश्वास आफूलाई रहेको गठबन्धनका उम्मेदवार शर्माले बताए ।

वाम गठबन्धनपछि यो क्षेत्रका मतदातामा उत्साह थपिएको तथा विकास र स्थिरताका लागि गठबन्धनको पक्षमा मतदान गर्ने उनले बताए । साझा पार्टीका उम्मेदवार मिश्रले पुराना पार्टीहरु पटक–पटक परीक्षण भइ असफल सिद्ध भइसकेकाले नयाँलाई रोज्नेमा आफू विश्वस्त रहेको बताए ।

घरदैलोकाक्रममा जनताले देखाएको स्नेह र सद्भावले आफूलाई हौसला बढाएको र निर्वाचित हुनेमा ढुक्क रहेको पनि उनले टिप्पणी गरे । यस्तै, प्रदेशसभातर्फ कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर–१ ‘क’मा दीपेन्द्र श्रेष्ठ र ‘ख’मा सुरजचन्द्र लामिछाने, गठबन्धनबाट ‘क’मा विष्णुकुमारी भुसाल (भट्टराई) र ‘ख’मा गणेशप्रसाद दुलाल तथा साझा पार्टीबाट ‘क’मा समीक्षा बास्कोटा र ‘ख’मा पुरुषोत्तम ढुंगेल उम्मेदवार छन् ।

क्षेत्र नम्बर–१ को ‘क’मा १३ जना र ‘ख’मा १४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार क्षेत्र नम्बर–१ मा ४२ हजार ४३० मतदातामध्ये १ ‘क’मा २४ हजार ७५७ र ‘ख’मा १७ हजार ६७३ मतदाता छन् । काठमाडौंमा प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ २० निर्वाचन क्षेत्र छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !