६ बैशाख २०८१, बिहिबार

अदृष्य आर्थिक चलखेल निर्वाचन प्रणालीकै लागि चुनौती : प्रमुख आयुक्त


ayodhi-yadav

कात्तिक २३, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाताकाबीचमा देखापरेको अदृष्य आर्थिक लेनदेनको विकृति आगामी निर्वाचनका लागि गम्भीर चुनौती भएको टिप्पणी गरेका छन् । डा. यादवले मतदातालाई रिझाउन गरिने आर्थिक चलखेलले निर्वाचन स्वच्छ हुन नसक्नेमात्र नभइ लोकतन्त्रको सौन्दर्य नै धरापमा पर्ने चिन्ता व्यक्त गरे ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा आचारसंहितासम्बन्धमा बिहीबार निर्वाचन आयोगले नेपाल सरकारका मुख्यसचिव र सचिवहरुसँग गरेको छलफलमा प्रमुख आयुक्त डा. यादवले आर्थिक र मानसिक विपन्नताले लेनदेनको संस्कृति देखापरेको भन्दै यसलाई रोक्नु चुनौती भएको टिप्पणी गरे । उनले अबका निर्वाचनमा ‘पोलिटिकल फाइनान्स’को व्यवस्था अनिवार्य भएको धारणा राखे ।
डा. यादवले चुनावमा खटिने कर्मचारीको निष्पक्षता पनि निर्वाचनका लागि चुनौतीपूर्ण भएको टिप्पणी गरे । प्रमुख निर्वाचन आयुक्त डा. यादवले समयमै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु मुलुकको एकमात्र एजेन्डा भएको भन्दै निर्वाचन सफल पार्न इमान्दारीपूर्वक लाग्न कर्मचारीलाई आग्रह गरे । कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मीले निर्वाचन सफल पार्न आवश्यक पर्ने स्रोत–साधन र व्यवस्थापकीय कार्यप्रति विश्वस्त रहन निर्वाचन आयोगलाई आग्रह गरे । आयोगका आयुक्त सुधीरकुमार शाहले आचारसंहिता नैतिकता, सदाचार र प्रजातन्त्रको मूल्य–मान्यतासँग जोडिएको विषय भएकाले यो स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनसँग जोडिएको बताए ।
कार्यक्रममा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले निर्वाचनमा खटाइएका कर्मचारीले कार्यक्षेत्रमा जान अटेरी गरेको बताए । कर्मचारीले अटेरी गरेकै कारण निर्वाचनका लागि हिमाली जिल्लामा कर्मचारी खटाउन आयोगले पाँचपटक निर्णय सच्याउनुपरेको स्मरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !