१ मंसिर २०८१, शनिबार

भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ : महतो


राजेन्द्र महतो

काठमाडौँ, ३१ जेठ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।

“अहिलेको संविधानबारे हाम्रो असहमति कायमै छ । यो संविधान सबै वर्ग र समुदायको हुन सकेको छैन तर भूगोलको रक्षाका सन्दर्भमा हामी एक ठाउँमा छौँ । अबका दिनमा विगतमा हामीसँग भएका सम्झौताअनुसार संविधान संशोधनका प्रस्ताव आएको भएको राम्रो हुन्थ्यो ।” उहाँले भन्नुभयो, “यो नक्शा जारी गरेर मात्रै हुँदैन । कूटनीतिक वार्ता गरेर हाम्रो भूमि फिर्ता ल्याउनुपर्छ । राष्ट्रियता कुनै जात र वर्गको हुन सक्दैन । एकलौटी राष्ट्रियता पङ्गु राष्ट्रियता हो । अब हामी भूमि र जनताको पहिचानसहितको राष्ट्रियताको नयाँ परिभाषामा जाऔँ ।”

उहाँले जनताले गरेको आन्दोलनको सम्मान गर्दै संविधानको रक्षाका लागि यसमा समयानुकूल संशोधन आवश्यक हुने विचार राख्नुभयो । नेता महतोले आफूहरुका असन्तुष्टिका बीच देशको सवालमा एक ठाउँमा उभिनुपर्ने भएकाले नक्शा संशोधनको विधेयकलाई सहर्ष समर्थनको घोषणा गर्नुभयो । उहाँले नेपाली सीमाको रक्षाका लागि प्रत्येक मधेसी जनता नै सेना बनेर लडिरहेको बताउँदै देशमा राष्ट्रघातीहरुको पनि खोजी हुनुपर्ने तर्क गर्दै प्रश्न गर्नुभयो, “अन्ठाउन्न वर्ष पहिले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको नक्शामा कायम रहेको थियो । त्यसलाई कसले हटायो ? त्यसबारे खोजबिन र श्वेतपत्र जारी गरी राष्ट्रघातीलाई पर्दाफास गरी कारबाही गर्नु पर्दैन ? अनि मधेसी, आदिवासी र दलितले राष्ट्रियताका विषयमा कति पटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?”

सङ्घीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई हालै जनसमाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !