काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा आज काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको कार्यक्रममा सरिक भए ।
राष्ट्रपति पौडेलको समुपस्थितिमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइएको हो । उक्त समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्याधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो ।
जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो ।