ताप्लेजुङ । ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ ।
नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस पाइन्छन् । लालीगुराँस पूर्वदेखि सुदूरपश्चिमका डाँडापाखामा भेटिने भएकाले विज्ञहरूले यो वनस्पतिलाई राष्ट्रिय फूल बनाउन सिफारिस गरेका थिए ।
नेपालको पूर्वीभेगका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमलाई जोड्ने संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) मा लालीगुराँसको जंगल लै छ । टीएमजेमा मात्रै गुराँसका विभिन्न २८ प्रजाति पाइने भएकाले सो ठाउँलाई गुराँसको राजधानीसमेत भनिन्छ ।
फागुन, चैत, वैशाख, जेठ महिनाभर अनेक थरीका गुराँसले जंगललाई रंगीचङ्गी बनाउने भएकाले टीएमजे पुग्ने आन्तरिक र बाह्य पर्यटकको संख्या निकै बाक्लो हुन्छ । नेपालमा समुद्र सतहको १३०० देखि २५०० मिटर उचाइ हाराहारीमा लालीगुराँस गुराँस पाइन्छ । लालीगुराँसबाहेक तर अन्य थरीका गुराँस भने ४५०० मिटर उचाइ हाराहारीमा पनि फेला परेका छन् ।
हिमाली क्षेत्रमा हुने ‘रेडोडेन्ड्रन निभाल’ नामको गुराँसलाई ‘स्नो’ अर्थात् हिउँ गुराँससमेत भन्ने गर्छन् । अहिले हिमाली भेग हिउँले ढाक्ने भएकाले रेडोडेन्ड्रन निभाल जस्ता उच्च भेगका गुराँस साउन भदौमा मात्रै फुल्छन् । बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ ।
झाडी, बुट्ट्यान र मझ्यौला रूख आकारका गुराँस सयौं थरीका छन् । तर सबै लालीगुराँस होइनन् । ठूलो रूख आकारको लालीगुराँस भने नेपाल र चीनमा मात्रै पाइन्छ । गुराँस नेपालसहित चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा पाइन्छ ।
तस्वीर : दिलकुमार लिम्बु, रासस