१३ बैशाख २०८१, बिहिबार

मनाङमा हिमपातका कारण जनजीवन कष्टकार (फोटो फिचर)


मनाङमा हिमपात

मनाङ । मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकार बन्दै आएको छ । हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिरा हिँडेका छन् ।

मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भए पनि तल्लो भेग चामे सदरमुकाम आसपासमा भने १२ गतेबाट हिमपात सुरु भएको हो ।

“अहिले जिल्लाको सदरमुकाम लगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । मानिस हिँडडुल गर्न कठिन भएको छ । सवारी आवगमनसमेत ठप्प भएको छ । अझै तीन दिन हिमपात हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

जिल्लाको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको छ । “पर्यटकलगायत सर्वसाधरणलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिरहेका छौ”, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने ।

स्थानीयवासीका अनुसार बाक्लो हिमपातले अत्यधिक चिसो बढाएको छ । माथिल्लो मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले छिनछिनको हिमपातका कारण चिसो बढेको बताए । उनका अनुसार स्थानीय साथै चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक हिमपातका कारण प्रभावित भएका छन् ।

उनले माथिल्लो मनाङमा शुक्रबार साँझदेखि छिनछिनमा हिउँ परिरहेको बताए । चिसोका कारण स्थानीयवासी आगो तापेर घरभित्रै बस्न बाध्य भएका छन् । यस अघि मङ्सिर तेस्रो साता माथिल्लो मनाङ र नार्पाभूमिमा हिमपात भएकोमा केही दिनयता चामे आसपासका क्षेत्रमा पनि हिमपात हुन थालेको छ ।

हिमपातका कारण अत्यधिक चिसो बढेकाले प्रहरीलाई नियमित गस्तीका लागि पठाउनसमेत समस्या भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए । सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले हिमपातका कारण अधिकांश सडक अवरुद्ध भएकाले आवतजावत गर्न असजिलो भइरहेको बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार माथिल्लो क्षेत्र साथै सदरमुकाम चामे आसपासमा निरन्तर बाक्लो हिमपात भइरहेकाले अत्याधिक चिसो बढेको बताए ।

उनका अनुसार विदेशी पर्यटकलाई सुरक्षित रहन र मौसममा सुधार नआएसम्म तिलिचो र थोरङ्लालगायत अन्य जोखिम क्षेत्रमा नजान अनुरोध गरिएको छ । गत एक हप्तमा जिल्लामा ३१ विदेशी पर्यटक भित्रिए पनि हाल २० जना जिल्लाभित्र रहेका छन् भने तीमध्ये ११ जनाले थोराङ्लापास गरी मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।
मनाङमा हिमपात मनाङमा हिमपात मनाङमा हिमपात मनाङमा हिमपात

तस्वीर सौजन्य : नवीन लामिछाने, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !