१९ बैशाख २०८१, बुधबार

प्रचण्डले आज माओवादी केन्द्रमा पदाधिकारी टुंगो लगाउँदै


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुंगो लगाउने तयारी गरे पनि सफल हुन सकेनन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा पदाधिकारीसहित रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने माग नेताहरूले गरेका छन् । उनीहरूले माग गरेपछि अध्यक्ष प्रचण्ड आन्तरिक तयारीमा जुटेका छन् ।

यद्यपि, बुधबार रातिसम्ममा ‘को कुन पदमा रहने ?’ भन्ने टुंगो लागेको छैन । आज बिहीबार बिहान पुनः बस्ने स्थायी समिति बैठकबाट पदाधिकारीसहितका जिम्मेवारी टुंगो लगाउने तयारी भइरहेको स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा सांगठनिक विषयमा छलफल भएको बताउँदै महराले आज बिहीबारको बैठकले केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी टुंगो लगाउने दाबी गरेका छन् । महाधिवेशन सम्पन्न भए पनि माओवादीले अहिलेसम्ममा कुनै समितिलाई पूर्णता दिएको छैन । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समितिदेखि नेताका जिम्मेवारी बाँडफाँटलगायत अपूरै छ ।

‘केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा थप्नुपर्ने साथीका विषयमा छलफल भयो । पदाधिकारी पनि टुंग्याउनुपर्ने विषयमा विस्तृत छलफल भयो । करिब टुंगोमा पुगेका छौं । बिहीबार बिहान ८ बजे अन्तिम टुंगो लाग्छ,’ प्रवक्ता महराले भने ।

माओवादी केन्द्रको विधानअनुसार पदाधिकारी टुंगो केन्द्रीय समितिबाट लाग्ने हो ।

‘भए सर्वसम्मतिमा नभए केन्द्रीय सदस्यको मतदानबाट पदाधिकारी टुंगो लगाउनुपर्ने’ वैधानिक व्यवस्था छ । तर, अध्यक्ष प्रचण्डले पुरानै स्थायी समितिलाई मान्यता विगतमा दिए । सो स्थायी समितिले समेत अझै पूर्णता पाएको छैन ।

माओवादी केन्द्रको विधानअनुसार महाधिवेशनले केन्द्रीय सदस्य निर्वाचन गर्छ । केन्द्रीय सदस्यबाट पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो गठन गर्ने प्रावधान छ । सोहीअनुसार पदाधिकारी निर्वाचन केन्द्रीय समितिमा हुन्छ । मतदान गर्ने र कुनै पदको उम्मेदवार हुने अधिकार केन्द्रीय सदस्यलाई मात्रै रहेको छ ।

‘विवाद नहोस्’ भनेर पार्टी विधानविपरीत अध्यक्ष प्रचण्ड स्थायी समितिबाटै पदाधिकारी घोषणा गर्ने आन्तरिक तयारीमा छन् । स्रोतका अनुसार प्रचण्ड पदाधिकारीसहित जिम्मेवारी बाँडफाँटका काम सहमतिमै टुंगो लगाउने गृहकार्यमा जुुटेका छन् । बिहीबार बिहानसम्ममा टुंगो लगाएर आज बिहीबार नै बस्ने बैठकबाट घोषणा हुन सक्छ । यदि सहमति नजुटेको अवस्थामा नहुन पनि सक्ने स्रोतको दाबी छ ।

‘सर्वसम्मतिमै नामावली टुंगो लगाएर बैठकमा पेस गर्ने अधिकार अध्यक्ष कमरेडलाई दिइएको छ । सोहीअनुसार टुंगो लगाएर उहाँले नामावली पेस गर्ने सम्भावना छ,’ ती माओवादी नेताले भने ।

गत ११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न गरेको थियो । यसबीच बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो । साथै, केही केन्द्रीय सदस्यसमेत यसबीच मनोनीत भएका छन् ।

पार्टी अध्यक्षपछि दोस्रो कार्यकारी र पछि पार्टी अध्यक्ष हुने मुख्य पद महासचिव हो । महासचिवमै विवाद भएका कारण प्रचण्डले अहिलेसम्ममा पदाधिकारी टुंगो लगाउन नसकेका हुन् ।

माओवादी केन्द्रको विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । माओवादी केन्द्रमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

अध्यक्षसहित १५ पदाधिकारी केन्द्रीय समिति बैठकबाट निर्वाचित हुने व्यवस्था माओवादी विधानमा छ । पहिलो प्राथमिकता सर्वसम्मत हो । सर्वसम्मत हुन नसकेको अवस्थामा निर्वाचनबाट पदाधिकारी चयन गर्नुपर्छ । तर, निर्वाचन भए मतदाता केन्द्रीय सदस्य मात्रै हुन्छन् ।

त्यस्तै, बैठकले पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरोसमेत चयन गर्नुपर्ने हुन्छ । यसअघिको बैठकले अध्यक्ष मात्रै टुंगो लगाएको छ ।

माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुने निश्चित छ । श्रेष्ठ र मातृका यादवले आफू वरिष्ठ उपाध्यक्ष हुनुपर्ने दाबी गर्दै आएका छन् । स्थायी समिति बैठकमा समेत श्रेष्ठ र यादवले वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी रहेको संकेत गर्दै आएका छन् ।

उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गणेश साह हुने चर्चा छ । वरिष्ठ उपाध्यक्ष नभएपछि उपाध्यक्ष र महासचिव हुन नसकेपछि उपाध्यक्ष हुनुपर्ने केही नेताका दाउ छ ।

महत्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि ६ नेताबीच प्रतिपस्र्धा छ । महरा, गुरुङ, भुसाल, पुन र शर्माका साथै शक्ति बस्नेतमध्ये एक महासचिव हुने चर्चा माओवादीभित्र छ ।

पुन र शर्माले एकअर्कालाई रोक्न आफैं महासचिव हुन नसकेको अवस्थामा अरू नेतालाई अघि सारिरहेका छन् । पुन र शर्माबीच ‘महासचिव को हुने ?’ भन्ने चर्को प्रतिस्पर्धा छ ।

सोही कारण अध्यक्ष प्रचण्डले समेत पदाधिकारी चयनमा ढिलाइ गर्दै आएका हुन् । स्रोतका अनुसार प्रचण्डले पुनलाई महासचिव बनाउने सम्भावना अत्यधिक छ । पुनलाई महासचिव बनाएर शर्मालाई उपाध्यक्ष बनाउने चाहना प्रचण्डको छ ।

पुनले आफू महासचिव नभए शक्तिबहादुर बस्नेतलाई र शर्माले भुसाललाई अघि सारेका छन् । महरा ‘आफंै हुनुपर्छ’ भन्ने प्रतिस्पर्धामा नभए पनि दाहालले अन्य नेता प्रतिस्पर्धामा आउँदा पूर्वमहासचिव भएकाले महरालाई नै अघि सार्न सक्ने अनुमानसमेत गरिएको छ ।

महासचिवका शक्तिशाली दाबेदारका रूपमा चर्चा भइरहेका पुन महाधिवेशनका समय उपचारका लागि चीनमा भएकाले त्यतिबेला पदाधिकारी टुंगो लगाउन नसकिएको हो ।

दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष तत्कालीन स्थायी कमिटी सदस्यमध्येबाट ल्याउने गृहकार्यमा अध्यक्ष प्रचण्ड छन् । यद्यपि, पोलिटब्युरो सदस्य भइसकेकी शशि श्रेष्ठसहितका नेतालाई समेत पदाधिकारीमा ल्याउने विषयमा छलफल भइरहेको छ । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !