१२ असार २०८१, बुधबार

तीन कम्युनिस्ट एकीकरण प्रयास, आखिर किन जुट्न खोज्दै छन् ?


प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ

काठमाडौं । आगामी निर्वाचनअघि नै नेपालका कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । यसका लागि शीर्षनेताबीच सामूहिक एवं ‘वान टु वान’ छलफल भइरहेको छ ।

राजधानीमा मंगलबार तीन कम्युनिस्टबीच पार्टी एकीकरण छलफल भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका शीर्षनेताबीच पार्टी एकीकरण छलफल भएको हो ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य वर्षमान पुन, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र अभियान संयोजक वामदेव गौतमलगायतबीच छलफल भएको छ ।

छलफलमा तत्कालीन नेकपा हुँदाका बहुमत सचिवालय सदस्य सहभागी छन् । उनीहरूबीच यसअघि पनि एकीकरण विषयमा छलफल भइसकेको छ । तत्कालीन नेकपा विभाजन भएर विभिन्न समूहमा कम्युनिस्ट पार्टी विभाजित भएपछि एकीकरणका लागि दबाब बढेको हो ।

हालै, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा आएका बेलासमेत कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि दबाब दिएका थिए । शीर्षनेतासँग भेटघाट गर्दै चिनियाँ नेताले पार्टी एकीकरणका लागि कडा दबाब दिएर स्वदेश फर्किएपछि नेपाल कम्युनिस्ट पार्टीका शीर्षनेताबीच छलफल सुरु भएको दाबी गरिएको छ ।

माओवादी केन्द्र अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाका बहुमत सदस्यबीच एकीकरणसहितका विषयमा छलफल भएको जानकारी दिए । छलफलपश्चात् सञ्चारकर्मीसँग गर्दै प्रचण्डले हालको सत्तारूढ पाँच दलीय गठबन्धन जोगाएर अगाडि बढ्ने र कम्युनिस्ट पार्टीबीच एकीकरण विषयमा साझा मत रहेको बताए ।

‘आज (मंगलबार) नेकपाकालीन सचिवालयका बहुमत सदस्यको बैठक बस्यो, यसअघि पहिलो बैठक असारमा भएको थियो, मुख्यतः सबै पार्टीले गठबन्धन गरेर जाने निर्णय गरेका छन् । गठबन्धन गरेर जाने नै भन्ने भएको छ,’ प्रचण्डले भने, ‘त्यस पनि चर्चा गरेका छौं । गठबन्धन कायमै राखेर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । तर, यसलाई अझै प्रभावकारी बनाउने भन्ने छ ।’

कम्युनिस्ट पार्टीबीच एकीकरण गर्ने विभिन्न विकल्प समेत छलफल भएको उनले जानकारी दिए । प्रचण्डका अनुसार तत्कालीन नेकपाका बहुमत सदस्य सहभागी बैठकमा पार्टी एकीकरण समेत छलफल भएको छ ।

‘अर्कोतिर हामी हिजो एकै पार्टी सचिवालयमा थियौं । त्यसका बहुमत सदस्य अहिले छलफल गरिरहेका छौं,’ उनले भने, ‘हामीबीच पार्टी एकीकरण’bout कुरा भइरहेको छ । बाबुरामजीसँग पनि आजै (मंगलबार) पार्टी एकीकरणमै केन्द्रित भएर कुरा भएको छ । अहिले जतिसँग छलफल भएको छ, ती सबैसँग एकैखाले चर्चा गरेका छौं । हेर्दै जानुहोला, सकारात्मक नतिजा आउँछ ।’

शीर्षनेताबीच छलफल हुनुअघि दाहाल र जसपा परित्याग गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीचसमेत कम्युनिस्ट पार्टी एकीकरण विषयमा छलफल भएको छ । छलफलमा भट्टराईले समाजवादी केन्द्र स्थापना गरेर अगाडि बढ्नुपर्ने प्रस्तावसमेत गरेका छन् ।

त्यसअघि वामदेव गौतमले यी नेतासँग ‘वान टु वान’ छलफल गर्दै कम्युनिस्ट पार्टीबीच छलफल गरेका थिए । सबै नेतासँग एक्लाएक्लै छलफल गरेका गौतमले कम्युनिस्ट पार्टीबीच ‘जसरी पनि एकीकरण हुनुपर्ने’ दबाब दिँदै आएको अभियान प्रवक्ता निमकान्त पाण्डे बताउँछन् ।

‘विचार मिल्नेसँग आगामी निर्वाचनअघि नै पार्टी एकीकरण, त्यो पनि नभए वाम एकता र त्यो पनि नभए वाममोर्चा बनाएर अगाडि बढ्ने विषयमा छलफल भइरहेको छ,’ पाण्डेले भने, ‘एमाले अध्यक्ष केपी ओलीको दम्भ अझै घटेको छैन, एमालेबाहेकका सबै कम्युनिस्ट पार्टीबीच एकीकरण वा तालमेल गरेर अगाडि बढ्ने छलफल भइरहेको छ ।’ यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !