काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक तथा २ र ५ मंसिर गरी तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले सम्भवतः बुधबार आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्नेछ ।
‘बुधबार प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति छलफल गर्ने तयारी छ, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक, २ र ५ मंसिरको मितिमध्ये एक मिति उपयुक्त हुन सक्ने देखिएको छ,’ आयोग उच्च स्रोतले भन्यो ।
स्रोतका अनुसार आयोगले यसअघि ३० कात्तिकको मिति प्रस्ताव गर्ने तयारी गरेको थियो । तर, आयोगका उच्च तहका पदाधिकारीनिकट ज्योतिषले सो मिति उपयुक्त नहुने सुझाएपछि आयोगले २ र ५ मंसिरको मितिसमेत विकल्पमा राखेर सिफारिस गर्ने तयारी गरेको हो ।
उता प्रधानमन्त्री शेरबहादुर देउवा पनि ज्योतिषीलाई हेराएरै मिति तोक्ने गृहकार्यमा छन् । निर्वाचन आयोगको परामर्शमा निर्वाचनको मिति भने सरकारले नै तोक्नेछ । तीनवटा मितिमध्येमा पनि २ मंसिरको मिति अझै उपयुक्त देखिन्छ, शुक्रबारसमेत परेकाले सो मिति उपयुक्त हुन्छ भन्ने छ,’ आयोग स्रोतले भन्यो ।
यसअघि स्थानीय तह निर्वाचनको मितिसमेत ज्योतिषलाई देखाएरै तय गरिएको आयोग स्रोत बताउँछ । त्यसबखत आयोगले ५ जेठको मिति प्रस्ताव गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीकै सल्लाहमा ३० वैशाखको मिति तय गर्न लगाएका थिए ।
आयोगले देशभरका १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गर्नेछ । आयोगले सरकारका केही मन्त्रीहरूसँग केही दिनयता भएका अनौपचारिक संवादका क्रममा एकै चरणमा निर्वाचन गर्नेगरी सो मितिमा समेत छलफल गर्दै आएको छ ।
हाल देशभर मतदाता नामावली संकलनको काम जारी छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले मिति घोषणा हुनुअघिसम्म नाम दर्ता गर्न सकिनेछ ।
७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । यस्तै आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।
यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत एकैपटक गरिएको थियो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २२ मंसिरमा सकिने बताउँदै आएको छ ।
आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।
आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।