३ असार २०८१, आइतबार

कम्तीमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न कांग्रेसमा देउवालाई दबाब


शेरबहादुर देउवा

काठमाडौँ । सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा ‘सम्मानजनक’ सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला नेपाली कांग्रेसका नेताहरूले कम्तीमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरूको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ ।

माओवादी र एकीकृत समाजवादीको एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरूबीच गठबन्धन गराउने कसरतमा रहेको चर्चा छ । उनीहरूले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका नेताहरूसँग अनौपचारिक संवाद चलाइरहेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हालसम्म यही गठबन्धनको पक्षमा छन् तर उनीहरूले पनि पार्टीभित्रका फरक धारलाई सम्हाल्न सिट तालमेललाई रणनीतिक रूपमा उपयोग गर्न सक्ने कांग्रेस नेताहरूको आशंका छ ।

गठबन्धनलाई अनिवार्य आवश्यकता ठान्दै आएका देउवाले ‘सिट’ मा सम्झौता गर्न सक्ने भन्दै पार्टीका अधिकांश नेताले सय सिटभन्दा तल नझर्न उनलाई सुझाइरहेका छन् । गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टी आन्तरिक कलहमा फसेकाले सिट तालमेलको विषयमा प्रवेश गर्नै सकेको छैन । एकीकृत समाजवादीपछि जसपामा मन्त्री फेरबदलको विषय चर्किएको छ ।

कांग्रेस नेताहरूले प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ६० प्रतिशत अर्थात् ९९ सिटभन्दा तल झरेर तालमेल नगर्न देउवालाई दबाब दिइरहेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल भने गठबन्धन दलहरूको अवस्था सुनिश्चित भएपछि मात्रै सिट संख्याको तालमेलबारे छलफल चल्ने बताए । अहिले गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे औपचारिक तहबाट प्रस्ताव र छलफल नभएको उनको दाबी छ ।

बुधबारमात्रै देउवासँग यसबारे छलफल भएको पौडेलले बताए । स्थानीय तह निर्वाचनको समीक्षा र संघको निर्वाचनमा तालमेलबारे संस्थागत धारणा बनाउन पौडेलले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेका छन् । उनका अनुसार देउवाले असार २० मा बैठक बोलाउने बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कम्तीमा ६० प्रतिशत हैसियतका साथ चुनावी तालमेल गर्नुपर्ने बताए ।

गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक कुराकानीमा कांग्रेसले सय सिटको दाबी अघि सारिसकेको एक नेताले बताए । माओवादीले ५० र एकीकृत समाजवादीले २५ सिट लिनेबारे कुरा भइरहेको उनको भनाइ छ । जसपा सग्लो रहने कि नरहने भन्ने प्रश्नले उसको पोजिसन यकिन हुन सकेको छैन ।

माओवादी नेता वर्षमान पुनले सिट संख्या तालमेलबारे सामान्य छलफल मात्रै चलिरहेको बताए । कुन पार्टीले कहाँ कति सिट लिने भन्नेबारे गहिरो छलफल नभएको उनको भनाइ छ । उनका अनुसार गठबन्धन दलले प्रत्यक्षतर्फ जितेका सिट कायम राखेर एमालेले जितेका ८० सिटमा बाँडफाँट गर्ने सैद्धान्तिक कुराकानी भइरहेको छ । असार मसान्तसम्म निर्वाचनको मिति घोषणा भइसक्ने उनले बताए ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले आफूहरूले सिट संख्याको तालमेलबारे प्रस्ताव गठबन्धनमा लगिनसकेको बताए । जसपा नेता रामसहायप्रसाद यादवले पार्टीलाई एकीकृत ढंगले अघि बढाउने र मन्त्रीहरू परिवर्तन गर्ने दिशामा नेतृत्व व्यस्त रहेकाले अहिले त्यतातिर छलफल नभएको बताए । यो समाचार कान्तिपुर दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !