१९ पुस २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रले ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउने


पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्रले ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन् । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।

पूर्व युवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन् । २३ गतेबाट ७७औं वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् ।

उनले गत वर्ष झापा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाएका थिए । कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव नमनाएका ज्ञानेन्द्रले यो वर्ष सबै आफन्तसँगै बसेर विदेशमा जन्मोत्सव मनाउन लागेका हुन् । जन्मोत्सव समारोहमा सहभागी हुन नाति हृदयेन्द्र शाह अमेरिकाबाट नेपाल आइपुगेका छन् ।

नेपाल फर्केको करिब दुई सातामा उनी थाइल्यान्ड पुगेका छन् । बुहारी हिमानी शाह, दुई नातिनी पूर्णिका र कीर्तिका उच्चशिक्षा अध्ययनको क्रममा बैंककमै छन् । तीबाहेक छोरी प्रेरणा, धीरेन्द्रपुत्री दिलासा र पूजा पनि थाइल्यान्ड पुगिसकेका छन् ।

त्यसै गरी प्रभुशमशेरका परिवार, बहिनी, ज्वाइँलगायत पूर्वराजपरिवारका अधिकांश सदस्य थाइल्यान्ड पुगिसकेका छन् । बैंककको एक होटलमा जन्मोत्सव मनाउने कार्यक्रम तय भएको छ । जन्मोत्सवमा परिवारका सदस्यबाहेक निजी सचिव सागर तिमल्सिना, निजी सुरक्षाकर्मी, सशस्त्रका डीएसपीलगायत सीमित कर्मचारी सहभागी रहनेछन् ।

दुई छोरीको पढाइ व्यवस्थापन गर्न करिब ६ महिनादेखि हिमानी थाइल्यान्डमै रहेकी छन् । परिवारका सबै सदस्य र आफन्तहरू थाइल्यान्ड पुगे पनि ज्ञानेन्द्र पुत्र पारस शाह एक्लै निर्मल निवासमा बसिरहेका छन् । ‘उहाँ केही कर्मचारीका साथ एक्लै निर्मलनिवासमा बसिरहनुभएको छ’ – निर्मल निवास स्रोतले भन्यो ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र र उनको परिवार थाइल्यान्ड भ्रमणमा जाँदा पारस एक्लै निर्मल निवासमा बसेका थिए । यो वर्ष पनि बुबाको जन्मदिन मनाउन कतै गएनन् । पछिल्लो समय निर्मल निवासमा बस्दै आएका पूर्वयुवराज पारस दिनभरजसो निर्मल निवासमै बस्ने गरेका छन् ।

आफ्ना छोरा, दुई छोरी र श्रीमतीलगायत सबै परिवार बैकक गए पनि उनी घर कुर्न बसेका छन्, –स्रोतले भन्यो । यसैबीच युवा विश्व हिन्दु महासंघले पूर्वराजाको तस्वीरमा माल्यार्पण गरी जन्मोत्सव मनाउने तयारी गरेको छ ।

महासंघका अध्यक्ष राजन महर्जनले हनुमानढोका परिसरमा ज्ञानेन्द्रको तस्वीरमा माल्यार्पण गरी जन्मोत्सव बनाउने तयारी गरेको जानकारी दिनुभयो । ‘कार्यक्रममा राजावादीका अलावा राजसंस्थाप्रति आस्था राख्ने नेपाली जनताको स्वस्फूर्त रूपमा सहभागी हुन अपिल गरेका छौं’ –अध्यक्ष महर्जनले भने । यो समाचार नेपाल समाचारपत्र दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु