५ जेष्ठ २०८१, शनिबार

तिलौराकोटको माटो बर्मेलीले लुकाउँदा सुनिल बने मूर्तिकार


सुनिल तिवारी

कपिलवस्तु । भारतमा २० वर्ष श्रमिकको काम गर्दै आएका कपिलवस्तुका ४३ वर्षीय सुनिल तिवारी आफ्नो आर्थिक अवस्था उकास्न नसकेपछि वैदेशिक रोजगारीमा जाने इच्छाले नेपाल आए । केही समयपछि कतारको भिसा पनि लाग्यो । भिसा लागेको खुसियालीमा भगवान्को दर्शन गर्न तिवारी र उनकी श्रीमती तिलौराकोट पुगे ।

उनीहरू त्यहाँ पुग्दा बर्मेली नागरिकसमेत तिलौराकोटको अवलोकन गर्न आएका रहेछन् । तिलौराकोटको अवलोकन गर्न आएका बर्मेली नागरिकले त्यहाँको माटो लुकाएर लैजान लागेको देखेपछि उनको मनमा यहाँको माटोबाट केही गर्न सकिन्छ कि भन्ने सोच पलायो ।

सानैदेखि माटोको मूर्ति बनाउन सौखिन तिवारीले त्यसपछि विदेश जाने सोच त्यागे । र, यहाँको माटोबाट बुद्धको मूर्ति बनाएर बिक्री गर्ने अठोट लिए । त्यसपछि तौलिहवामा मूर्ति बनाउन सुरु गरे । अहिले तिवारी मनग्य आम्दानी गर्न सफल भएका छन् । ‘म कक्षा ३ मा पढ्दादेखि नै माटोको मूर्ति बनाउनु रुचि राख्थें । अरूले मूर्ति बनाएको देखेपछि रुचि लाग्न सुरु गरेको थियो ।

केही वर्ष दसैंको बेलामा दुर्गा मूर्ति बनाउँदै खाली समय काम गर्दै आए पनि पाँच वर्ष यता व्यावसायिक रूपमा मूर्ति निर्माण गर्दै बिक्री गर्न लागेको छु । परम्परागत सीप मात्र भए पनि युट्युब हेर्दै बनाउन थालेको हुँ ।’ तिवारीलाई यो काममा उनकी पत्नी, दुई छोरी, एक छोरा सघाउने गर्छन् । थप एक जना कामदारलाई रोजगारीसमेत दिएका छन् ।

उनले २०÷३० रुपैयाँदेखि ४÷५ लाख रुपैयाँसम्मका मूर्ति आपूmले बनाउँदै आएको बताए । अहिले उनले माटो, सिमेन्ट र फाइबरको प्रयोग गरी मूर्ति बनाउने गरेका छन् । वार्षिक २० लाख बढीको मूर्ति बिक्री हुने गरेको उनी बताउँछन् ।

निर्माण गरिएका मूर्तिलाई सामाजिक सञ्जाल, टिकटकको प्रयोग गरी प्रचारप्रसार गरिएको र काठमाडौं, पोखरा, धनगढी, दाङ, अर्घाखाँचीलगायतका स्थानबाट मूर्तिको माग हुने गरेको उनले बताए । सुरुमा माटोको प्रयोग गरी नमुना मूर्ति बनाउने र नमुना मूर्तिबाट फाइबरको साँचो बनाउने तिवारीले बताए ।

पसल अगाडि निर्माण भएको मूर्ति देखेपछि प्रदेशमन्त्री डिल्लीबहादुर चौधरीले थारू म्युजियमका लागि मूर्ति निर्माण गर्ने कामसमेत दिएको तिवारीले बताए । हाल तिलौराकोट आउने स्थानीय र विदेशी पर्यटकसमेत मूर्ति लिन आउने गरेका छन् । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सुशील गैरेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !