५ जेष्ठ २०८१, शनिबार

नेपालीको बढ्यो प्रतिव्यक्ति आय


केन्द्रीय तथ्यांक विभाग

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ ।

विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो वर्ष आएर १ लाख ६७ हजार रुपैयाँ पुगेको हो ।

चालू आर्थिक वर्षमा एकैपटक १ सय ८१ डलरले बढेर १ हजार ३ सय ७२ डलर पुगेको र यसअघि २०७४÷७५ मा एकैपटक १ सय २९ डलर बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

आर्थिक वर्ष २०६९/७० मा ८ सय १४ डलर रहेको नेपालीको प्रतिव्यक्ति आय एक दशकमा ५ सय ५८ डलर बढेको छ । आर्थिक वर्ष २०७३/७४ पहिलोपटक १ हजार डलर नाघेको थियो ।

२०७४÷७५ मा १ हजार १ सय ३८ डलर, २०७५÷७६ मा १ हजार १ सय ५९ डलर, २०७६÷७७ मा १ हजार १ सय २६ डलरमा झरेको प्रतिव्यक्ति आय २०७७÷७८ मा भने १ हजार १ सय ९१ डलर पुगेको र अहिले १ हजार ३ सय ७२ डलर पुगेको हो ।

आर्थिक वृद्धि ५.८४ प्रतिशत
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा सोही समयमा ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले चालू आर्थिक वर्षमा ४.१ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । यसअघि सरकारले भने चालू आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।  यो समाचार आजको राजधानी दैनिकमा समाचार छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !