५ जेष्ठ २०८१, शनिबार

सिद्धिसाईका ठेक्का जताततै अलपत्र


सडक खन्दा

काठमाडौं । विभिन्न ठाउँमा विकाससम्बन्धी आयोजनाको ठेक्का लिएर अलपत्र पार्दै आएको सिद्धिसाई कम्पनीले सरकारलाई डेढ करोड बढी राजस्व बुझाउन बाँकी रहेको खुलेको छ ।

सिद्धिसाईका सञ्चालक दीपेन्द्र शाही हुन् । उनी यसअघि चेक बाउन्स कसुरमा पक्राउसमेत परेका थिए । उनै शाहीको कम्पनी सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिले १ करोड ७४ लाख २ हजार ४ सय ७३ रुपैयाँ मूल्य अभिवृद्धि करमार्फतको रकम तिर्न बाँकी रहेको पाइएको हो ।

आन्तरिक राजस्व कार्यालय ठमेलले बिहीबार एक सूचना जारी गरेर कर बक्यौता दाखिला गर्न भनेको छ । शाही कांग्रेस डोल्पा सभापतिसमेत रहेका छन् । शक्तिकेन्द्रको आडमा समयमै आयोजनाको निर्माण नगर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको छ ।

सिद्धिसाईले विभिन्न ठाउँमा सडक पूर्वाधारसम्बन्धी ठेक्का लिएर अलपत्र पार्ने गरेको समेत पाइएको छ । शाहीको सिद्धिसाई सम्बद्ध जेभीले ठेक्का लिएको मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवा भन्ज्याङ (१० किलोमिटर) खण्ड वर्षौंदेखि कालोपत्रे नगरी अलपत्र पारेको छ ।

तेस्रोपटक थप भएको म्याद सकिँदासमेत कालोपत्र बिछ्याउने कार्य सुरु भएको छैन । हालसम्म सेखुवा–चखेवा भन्ज्याङ खण्डको कालोपत्रको काम करिब ३५ प्रतिशत मात्र भएको आयोजनाले जनाएको छ । भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाईले ३० फागुन २०७५ मा सम्पन्न गर्नेगरी, २ चैत २०७२ चैतमा चखेवा भन्ज्याङ–सेखुवा खण्ड कालोपत्रको सम्झौता गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा समाचार छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !