८ बैशाख २०८१, शनिबार

अर्याल एआईजीमा सिफारिस, भावी आईजीपी पक्का


डिआइजी राजु अर्याल

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ ।

गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको हो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) मा पक्का भएका छन् । उनले अब १९ वैशाखदेखि चार वर्षका लागि सशस्त्र प्रहरीको नेतृत्व लिने छन् । सशस्त्र प्रहरी महानिरीक्षकको हालको चार बर्से पदावधिअनुसार उनी १८ वैशाख २०८३ सम्म नेतृत्वमा रहने छन् ।

एआईजीमा सिफारिस डीआईजी अर्याल वरिष्ठताका आधारमा पहिलो नम्बरमा थिए । पेशाप्रति निडर, इमान्दार र व्यवसायिक छबी बनाएका अर्याल अबको केही दिनमै छोटो समय एक साताभन्दा कम समयका लागि एआईजी बन्नेछन् । वर्तमान महानिरीक्षक पुष्पराम केसीको २० दिने कार्यकाल १८ वैशाखमा सकिएपछि उनको काँधमा सशस्त्रको नेतृत्व जानेछ ।

१८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा प्रवेश गरेका उनी नायव उपरीक्षक (डीएसपी) मा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । उनीसँगै त्यसबेला उनका ब्याची नारायणदत्त पौडेल, बंशी दाहाल र शम्भु सुवेदी सशस्त्र प्रहरीमा आएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !