४ असार २०८१, सोमबार

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने


फोहोरमैला

काठमाडौं । राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो ।

कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुहिने फोहोर र नकुहिने फोहोर संकलन गर्न आउने बार प्लास्टिकलगायतका नकुहिने फोहोर संकलन गर्ने जनाएको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वैशाख १ गतेबाट वडा नम्बर १० मा यो व्यवस्था लागु भइसकेको जानकारी दिँदै भने– ‘हामीले हिजोबाट प्रक्रिया शुरू गरेका छौँ, यो महिनासम्म सूचना, माइकिङसहित प्रचारप्रसार हुनेछ, जेठबाट सबै वडामा लागु गर्नेछौं । स्रोतमै फोहोरको वर्गीकरण नगरे जेठ १ गतेबाट जरिवाना तिराउन शुरू गर्नेछौँ ।’

विभागले आइतबार, मंगलबार र शुक्रबार नकुहिने फोहोर संकलन गरिने जनाएको छ । त्यसै गरी सोमबार, बुधबार र बिहीबार कुहिने फोहोर संकलन गर्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !