२ असार २०८१, शनिबार

अध्यक्ष ओलीको आक्रोश : नालायकहरुले नाै महिनामै देश कंगाल बनाए


केपी ओली फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नालायकहरुले नाै महिनामै देश कंगाल बनाएको बताएका छन् । शनिबार बागलुङमा स्थानीय तह निर्वाचित केन्द्रीय प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकार हुँदा जति खर्च गरे पनि एक वर्षका लागि पुग्ने सञ्चित विदेश मुद्रा रहेकोमा वर्तमान सरकारले ९ महिनामै सकेर कंगाल बनाएको आरोप लगाए ।

‘मेरो नेतृत्वमा सरकार हुँदा जे जति खर्च गरे पनि एक वर्षलाई पुग्ने विदेशी मुद्राको सञ्चिती थियो,’ उनले भने,‘अहिले चार महिनाका लागि पनि नपुग्ने अवस्थामा रहेको छ। नालायकहरुको हातमा पर्‍यो भने ९ महिनामै देश कंगाल पार्न सक्दा रहेछन् भन्ने उदाहरण देखियो।’

राष्ट्र बैंकका गभर्नर पार्टीको कार्यकर्ता हुन नमान्दा वर्तमान सरकारले निलम्बन गरेको उनले आरोप लगाए। ‘अहिले अर्थ मन्त्रालयमा अर्थशास्त्री छैनन्, पढेर राष्ट्र बैंकको गभर्नर बनेकालाई कार्यकर्ता नभएको भनेर निलम्बन गरिएको छ,’ ओलीले भने, ‘वर्तमान अर्थमन्त्री त ठूलो अर्थशास्त्री अरुले केही बोल्नै हुँदैन। हम! हामीलाई सिकाउने भनेर उफ्रिहाल्छन्।’ उनले पछिल्लो तीन वर्षमा असाधारण विकास निर्माणको काम गरेको आफ्नो सरकारलाई उन्नती देख्न नचाहानेहरुले गिराएको समेत बताए।

‘पछिल्लो चालिस महिनामा हामीले असाधारण विकासको काम गरेका छौं, पार्टी भित्रको अवरोध, कोभिडको समस्या हुँदा पनि विकासको गति रोकिएन,’ ओलीले भने,‘हजारौं पुल बनायौं, हजारौं किलोमिटर बाटो बनायौं। हुलाकी राजमार्ग सुरु गर्‍यौं, फास्ट ट्रयाकको काम अगाडि बढ्यो।’ भूकम्पले ध्वस्त पारेको देशको पुनः निर्माण आफ्नो सरकारले तीव्र गतिमा गरेको ओलीको दाबी थियो। वर्तमान सरकार देशको विकास हुन नदिने शक्तिको आडमा बनेका कारण यसबाट जनताको पक्षमा कुनै काम नहुने समेत तर्क गरे।

गठबन्धन दलहरुमा पहिरो जाँदा एमाले प्रवेशको मूल फुटेकाले अब एमालेलाई कसैले रोक्न नसक्ने समेत बताए। ‘मैले काठमाडौमा देशभरका विभिन्न ठाउँमा पुगेर पार्टी प्रवेश गराएको छु, आजै राति पार्टी प्रवेश गराउने कार्यक्रम थियो, तर काठमाडौं पुग्न सकिने अवस्था भएन,’ शनिबार साँझ ओलीले भने,‘अहिले गठबन्धन भनिएका दलहरुमा पहिरो जाँदा एमाले प्रवेशको मूल फुटेको छ। जताततैबाट प्रवेशको लहर छ।’ जातियता र क्षेत्रीयताका नारा लगाएर समाज भड्काउन खोज्नेहरुलाई जनताले पराजित गरेको समेत ओलीको कथन छ।

‘जातियता र क्षेत्रीयताको नारा लगाएर हामीलाई मधेसमा कमजोर पारिएको थियो, अघिल्लो निर्वाचनमा हामीले दुई नम्बर प्रदेशमा जम्मा दुई सिट मात्रै जितेका हौं,’ उनी भन्छन्,‘अहिले जनताले त्यसलाई पराजित गरेका छन् र मधेस उल्टिएर एमालेमय बनेको छ। मधेसको ३२ सिटमध्ये कम्तीमा २० सिट हामी जित्ने अवस्थामा पुगेका छौं।’ पाँच दलीय गठबन्धनलाई ओलीले स्यालको झुण्डको संज्ञा समेत दिए। ‘अहिले पाँच दलीय गठबन्धन भन्ने भएको छ, यो स्यालको झुण्ड हो, यसले जति गरे पनि हात्तीको सिकार गर्न सक्दैन,’ ओलीले भने।

एमालेसंग एक्ला एक्लै भिड्दा अस्तित्व नै मेटिने देखिएको उनको भनाई छ। ‘एक्ला एक्लै आउँदा त हामी यिनीहरु सबैलाई मसलदिन्छौं, पाँच दलको गठबन्धन आउँदा अलिअलि बीउ जोगिन सक्छ,’ ओली भन्छन्,‘कोभिडको बेलामा व्यापारीहरुको व्यापार त हुन्थेन त्यही पनि आधा सटर खोल्थे त्यस्तै यी पाँच दलीय गठबन्धनको व्यापार त चल्दैन आधा सटर खोलेर बस्न सक्छन्।’ स्थानीय निर्वाचनमा ३५ हजार सिटमध्ये २० हजार र ७५३ पालिकामध्ये चार सय पालिका एमालेले जित्ने उनले ठोकुवा गरे।

जनयुद्धका नाममा १७ हजार नागरिकको बलि चढाएर अहिले राष्ट्रिय सभा सदस्यमा भाईलाई सिफारिस गरेको भन्दै उनले प्रचण्डप्रति व्यङ्ग्य कसे। दुई तिहाई बहुमत ल्याउँदा पनि प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरुको कारण बीचैमा सरकार ढलको ओलीको भनाई थियो।

माधव, झलनाथहरु पार्टी छाडेर गएपछि एमाले झन् गतिशील बनेको ओलीले दाबी गरे। ‘कम्युनिष्ट पार्टी भित्र बसेर कम्युनिष्ट आन्दोलन र पार्टी नै सक्ने योजनामा प्रचण्ड, माधव र झलनाथहरु थिए,’उनले भने,‘नेपालमा यो सम्भव छैन। एमाले सशक्त र बलियो अवस्थामा छ।’ यो समाचार आजको नागरिक दैनिकमा संगम घर्तीमगरले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !