कास्की । ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ…. ।’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् ।
फेवातालको सौन्दर्यभन्दा अर्को पहिचान पनि थपिएको छ । पहिलेका पहिचान देशका लागि नै मूल्यवान् भए पनि बेलैमा सजग नभए पछिल्लो पहिचानको मूल्य भने देशले चुकाउनुपर्ने देखिएको छ । पछिल्लो पहिचान दिने दृश्य हेर्न फेवाताल थुन्न बाँध बाँधिएको स्थान फेवातालको पुछारमा जानुपर्छ ।
यो त्यही स्थान हो जहाँ माछापुच्छ्रेको छायाँ पर्ने गर्दछ तर प्रदूषणले गर्दा कञ्चन फेवाताल र माछापुच्छ्रेको छायाँ देख्न अचेल मुस्किल पर्छ ।
माछापुच्छ्रेको छायाँ तैरिने पानीमा अचेल थोत्रा जुत्ताचप्पल, प्लास्टिकका बोतल र थुप्रै खाले फोहोर तैरिन्छन् ।
तालको त्यस भागमा एउटा नाली आएर मिसिएको छ । त्यसैले ती फोहोर सिधै तालमा ल्याएर मिसाउँछ । यस्तो फोहोर ल्याउने काम त्यो नालाबाट मात्रै सीमित छैन । वाराहीघाट, गौरीघाट, फेवाघाट, पहारीघाटलगायत धेरै ठाउँमा त्यसरी नै सहरको नाला सिधै फेवातालमा सोझिएको छ ।
ती नालीले सधैँ प्लास्टिकजन्य फोहोर ल्याउँछन् र ताललाई फोहोर पार्छन् । कहिलेकाहीँ त मरेका जीवजन्तु पनि तिनै नालामा बगेर तालमा आइपुग्छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल तालमा सोझिएका नालासँगै फिर्के र बुलौँदी खोलाले पनि फेवालाई प्रदूषित बनाइरहेको बताए । उनका अनुसार फिर्के र बुलौँदी खोलामा पनि सहरका नाला मिसिएका छन् । त्यसैले ती खोलामार्फत पनि तालमा फोहोर पुग्ने उहाँको भनाइ छ ।
फेवाताल पोखराको मात्र नभएर नेपालकै सम्पदा भएकाले जोगाउन आवश्यक भएको पौडेल बताए । उनले भने, “पर्यटक आवतजावत गर्ने स्थानमा लुगा धुने, जताततै फोहोर हुँदा पर्यटकलाई त्यसको नकारात्मक असर पर्न जान्छ । महानगरले यो विषयमा चनाखो भई काम कारबाही अगाडि बढाउनुपर्छ ।”
ताल क्षेत्रलाई सफा राख्ने भन्दै सो क्षेत्रमा फोहोरदानीको समेत व्यवस्था भए पनि त्यहाँका होटेल रेस्टुरेन्टको लापरबाहीका कारण फोहोर नियन्त्रण हुन नसकेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सन्तोष सुवेदीले लेखेका छन् ।