१२ असार २०८१, बुधबार

सत्ता गठबन्धन धरापमा


काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट दलका नेताहरू एमसिसीलाई संसद्मा पेस गर्न राजी नभएपछि देउवा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको साथ खोज्न बालकोट पुगेका हुन् ।

गठबन्धनबाट बाहिर पनि निस्कन नचाहने र सरकारलाई सदनमा एमसिसी पेस गर्न पनि नदिने नीति सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लिएपछि सरकारको नेतृत्व गरेको कांग्रेस र प्रधानमन्त्री देउवा रुष्ट छन् । कांग्रेसले प्रधानमन्त्रीलाई गठबन्धन टुटे पनि एमसिसी सदनमा पेस गर्न गर्न अधिकार दिइसकेको छ ।

बालकोटमा देउवाले ओलीलाई संसद्मा जारी विरोध रोक्न आग्रह गर्दै एमसिसी पारितमा सघाउन आग्रह गरेका थिए । ‘संसद् खोल्नुस्, अवरोध नगर्नुस्, मिलेर एमसिसी पास गरौं भन्ने प्रधानमन्त्री देउवाको प्रस्ताव थियो’, ओलीनिकट स्रोतले भन्यो । यो समाचार नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !