काठमाडौं । नेपाल राष्ट्र बैंकले सख्खर, चिनी, चिगम, मिनरल वाटर, वियर, चुरोट, खैनी, रक्सी कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो ।
विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न शर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र –एलसी० खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा व्याज प्रदान गर्न नपाइने गरी पनि निर्देशन दिइएको छ । बुधवार परिपत्र गर्दै कतिपय सामानका आयातकर्ताबाट शत प्रतिशतसम्म ’क्याश मार्जिन’ लिन बैंकहरूलाई निर्देशन दिएको छ ।
४७ थरीका हार्मोनिक कोड भएका वस्तुहरु अनिवार्य रुपमा मार्जिन लिन बैंकहरुलाई एकीकृत परिपत्र पठाएको हो । यो मार्जिन भनेको आयातकर्ताले विदेशी मुद्रामा आयात गर्न लागेको रकम बराबरको स्वदेशी मुद्रा देशको बैंकमा जम्मा गर्नु हो। आयातलाई कडाइ गर्दै बैंकमा निक्षेप वढाउनका लागि राष्ट्र बैंकले यो कदम चालेको हो ।
राष्ट्र बैंकले आयातमा कडाइ गरेका सामानमा सुनचाँदी, मदिरा तथा भिनेगर, निजी सवारीसाधन (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचर लगायतका छन् ।
यद्यपि उद्योगहरूले आफ्नै प्रयोजनका लागि आफैँले आयात गर्ने कच्चा पदार्थको हकमा त्यो लागु नहुने उल्लेख गरेको छ । नेपाल सरकारका निकाय, कुटनीतिक नियोग र अस्पतालहरुमा गर्ने आयातमा तथा वाणिज्य बैंकहरुले सुन आयातको हकमा यो लागू नहुने पनि केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
यसैंगरी औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा पनि यो लागू नहुने स्पष्ट पारकेो छ । यद्यपि यसका लागि आयातकर्ताबाट सोको स्वघोषणा अनिवार्य रुपमा गर्नुपर्दछ । यो समाचार राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन्।