काठमाडौ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्टिय जनमोर्चाको तर्फबाट बनेको पाँच दलीय गठबन्धनले सानदार जित हात पार्दा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि गठबन्धनलाई चुनौती दिँदै एक सिट जोगाएको छ ।
सत्ताधारी दलहरू गठबन्धनसहित मैदानमा उत्रिँदा एमालेले प्रदेश १ तर्फ आफ्ना उम्मेदवारलाई विजयी बनाउन सफल भएको हो । योसँगै १९ सिटका लागि भएको निर्वाचनमा एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । शेर्पाको विजयले राष्ट्रिय सभामा एमाले नै ठूलो पार्टीको हैसियतमा उभिएको छ ।
राष्ट्रिय सभामा एमाले नै ठूलो
बुधबारको निर्वाचनअघि राष्ट्रिय सभामा एमालेको २४ सिट थियो । बुधबारबाटै एमालेले आफ्नो सात सिट गुमाउँदै १७ सिट कायम राखेको छ ।
यसैगरी, माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीबाट चार सिट रिक्त हुँदै गर्दा थप एक सिट जितेको हो । बुधबार भएको निर्वाचनपछि माओवादी केन्द्रको सिट १५ पुगेको छ ।
यसैगरी, तेस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ भने यसअघि सात सिटमा मात्रै सीमित रहेको कांग्रेसले सिट बढाएर १० पु¥याएको छ । कांग्रेसबाट तीन सिट रिक्त हुँदै थियो ।
यस्तै, एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ । चुनावअघि सात सिटमा रहेको सो दलबाट चार सदस्य रिक्त हुँदै थिए । गठबन्धनमा भएको भागबन्डामा नेकपा एसले पाँच सिट पाएको थियो भने अब आठ सिटसहित नेकपा एस चौथो ठूलो दल बनेको हो ।
यसैगरी, एक सिट रहेको जनता समाजवादीले गठबन्धनमा दुई सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । प्रदेश १ मा जसपाले एक सिट गुमाएको हो । अब राष्ट्रिय सभामा जसपा दुई सांसद भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।