११ आश्विन २०८१, शुक्रबार

सुस्तायो हस्तकला व्यापार


काठमाडौं । कोरोना महामारी शुरु भएदेखि नै करीब २ वर्षयता थुप्रै उतारचढावको सामना गर्दै आएको हस्तकला व्यवसायको व्यापार पछिल्लो समय बढ्दै गए पनि ओमिक्रोन भाइरसको प्रभावका कारण पुनः सुस्ताएको छ ।

भाइरसको प्रभाव बढेर विदेशी मुलुकमा सामानहरू निर्यात गर्न समस्या भएपछि व्यापार सुस्ताएको हो । नेपाललगायत अन्य मुलुकमा समेत भाइरसको संक्रमण दर बढ्दै गएपछि हस्तकला सामग्रीको निर्यात व्यापार ३० प्रतिशतमा सीमित भएको छ । निर्यात घट्नुको मुख्यकारण विदेशी मुलुकबाट माग घट्नु र कार्गोको भाडादर बढ्नु रहेको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आर्थिक अभियानलाई बताए ।

उनका अनुसार अहिले कार्गोको भाडादर ५ गुनासम्म बढेको छ । व्यवसायले गति नलिएका बेला बढेको भाडादरमा व्यवसायीहरूलाई सामान निर्यात गर्न झनै समस्या भएको छ ।

उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र करीब १ हजारभन्दा बढी हस्तकला सामग्रीका पसल रहेको महासंघको तथ्यांक छ । पछिल्लो समय ओमिक्रोन भाइरसको प्रभावले ती सबै पसल प्रभावित भएका छन् ।

पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको व्यवसाय भएकाले पनि नेपालमा आउने पर्यटक घट्नेबित्तिकै हस्तकला सामग्रीको व्यापार घट्ने गर्छ । अहिले पर्यटन व्यवसायसमेत सुस्ताएका कारण व्यवसायमा झनै समस्यामा परेको छ । आर्थिक अभियान दैनिकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !