काठमाडौं । आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम आगामी २ माघबाट अनलाइनबाट मात्र हुने जानकारी गराएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आमसेवाग्राहीको चाहना र अपेक्षाअनुरूप वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाई सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए ।
उनले वैदेशिक रोजगारसम्बन्धी हरेक काम कारबाहीलाई थप सहज, छिटो र पारदर्शी बनाउन २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने व्यवस्था मिलाइएको जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।