३ असार २०८१, सोमबार

कच्चा तेलको मूल्य घट्दै


कच्चा तेल

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल निगमका अनुसार करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव र अमेरिकाले रणनीतिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्रोलियम पदार्थ निकासा गरेपछि कच्चा तेलको मूल्य घट्न थालेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “कच्चा तेलको मूल्य बिस्तारै घट्न थालेको छ, विशेष गरी अमेरिकाले भण्डारण गरेको तेल बजारमा पठाउनु र कोरोनाको नयाँ भेरियन्टका कारण घट्ने सम्भावना छ, सुधारको सङ्केत देखिएको छ ।”

निरन्तरको मूल्य वृद्धिले हरेक १५ दिनमा दुई अर्ब घाटा बेहोरिरहेको निगमले सञ्चित रकमबाट पूर्ति गरिरहेको छ । निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपियाँ रहेको छ ।

पछिल्लो घाटालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ । मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम चलाइएको छैन । स्थिरिकरण कोषको रकम निकासाका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुमति दिनुपर्छ ।

कर्मचारी बोनसका लागि सञ्चित गरिएको रकम तीन अर्ब रुपियाँ छ । सो रकम पनि नचलाइएको निगमका प्रवक्ता उपाध्यायले बताए । यी सब गर्दा निगमसँग हाल २१ अर्ब रुपियाँ रकम रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य छिट्टै नघट्ने हो भने नेपालको घाटा निगमले लामो समय थेग्न नसक्ने निगमले जनाएको छ । तत्कालका लागि सञ्चित रकमबाट कारोबार गरिए पनि लामो समय टिक्न नसकिने उपाध्यायको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !