८ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशन : पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने व्यवस्था


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको नेकपा एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ ।

पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले आफ्नो सांगठनिक प्रस्तावमा संशोधन गर्दै सबै पदाधिकारीसहित केन्द्रीय सदस्यहरू निर्वाचित हुने प्रस्ताव समेटेका हुन् । यसअघि अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीबाट अध्यक्षले चयन गरिने उल्लेख गरिएको थियो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको एमाले स्थायी कमिटी बैठकमा पार्टीको राजनीतिक, सांगठनिक तथा वैचारिक कार्यदिशाको विषयले प्रवेश पाएको छ । बैठकमा विधान महाधिवेशन केन्द्रित छलफल सुरु भएको छ । केही समयपश्चात् एमालेले १०औं महाधिवेशन गर्दै छ । १०औं महाधिवेशन अघि एमालेले छुटै विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार विधान महाधिवेशन अघि स्थायी कमिटी, केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गरेर विस्तृत छलफलका लागि विधान महाधिवेशनमा प्रस्तुत हुनेछ । विधान महाधिवेशनमा विधान पारित गरेपछि सोहीअनुसार १०औं महाधिवेशनमा नेतृत्वको चयन गरिनेछ ।

यता, नवौंं महाधिवेशनले सक्रिय राजनीतिबाट ७० वर्ष लागेपछि बिदा लिनुपर्ने व्यवस्था गरेको थियो । तर, केही नेताले ७० वर्षको प्रावधान हटाउन खोजेपछि उमेर हदको सो व्यवस्था कायम नै राखिने भएको छ । दोस्रो पुस्ताका नेताहरूको दबाबले उमेर हदसम्बन्धीको व्यवस्था कायम राखिएको हो ।

यस्तै, एमालेले आफ्नो विधानमा सात सदस्यीय सचिवालय गठनको प्रस्ताव गरेको छ । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेकपाजस्तै एमालेमा अब सात सदस्यीय सचिवालय हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भएपछि एमालेमा अब अध्यक्षको नेतृत्वमा सचिवालय रहने व्यवस्था गरिनेछ ।

‘हामीले १०औं महाधिवेशन पछि निर्वाचित अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था विधानमै राख्दै छौं । पार्टीको काम तथा तत्कालै गर्नुपर्ने निर्णय त्यो सचिवालयबाटै हुनेछ,’ ज्ञवालीले भने, ‘यस्तै महासचिवको नेतृत्वमा कार्यालयसम्बन्धी अर्को सचिवालय रहनेछ, त्यसले कार्यालयको काममा केन्द्रित हुनेछ ।’

यसैगरी, उपाध्यक्षको संख्या घटाएर सचिवको संख्या बढाउने प्रस्ताव गरिएको छ । यसअघि उपाध्यक्षको संख्या सात राखिएको थियो भने सचिवको संख्या पाँच रहेको थियो । तर, त्यसमा संशोधन गर्दै उपाध्यक्षको संख्या तीन र सचिवको सात पुर्याउने प्रस्ताव भएको छ । नवौं महाधिवेशनबाट उपाध्यक्ष र सचिवको संख्या पाँच÷पाँच राखिएको थियो । उपमहासचिवको संख्या दुई जना राखिएको छ ।

विधानमा केन्द्रीय कमिटीको संख्या २ सय २५ राखिएको छ । केन्द्रीय कमिटीको एक तिहाइको संख्यामा पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ संख्यामा स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरिएको छ । यद्यपि पोलिब्युरो कमिटी राख्ने कि नराख्ने विषयमा अहिले छलफल जारी नै रहेको छ । त्यसैगरी, महाधिवेशनको प्रतिनिधि राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यलाई बनाउने प्रस्ताव विधानमा गरिएको छ ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन यसअघि नै भइसकेको छ । यसैगरी, संगठन विभाग प्रमुख पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन भएको छ ।

एमालेले आउँदो १५, १६ र १७ मा विधान महाधिवेशन काठमाडौंमा गर्दै छ । एमालेभित्र पहिलोपटक नेतृत्व चयन र नीति निर्णय गर्ने छुटाछुटै महाधिवेशन गर्दै छ । विधान महाधिवेशमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान प्रस्तुत हुनेछ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !