७ मंसिर २०८१, शुक्रबार

पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले भने- एमसिसीका नाममा अनेक दाउपेच चलिरहेका छन्


माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी लगायतका विषयलाई जोडेर सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका छन् । काठमाडौंको मीनभवनस्थित आलोकनगरमा शुक्रबार पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन् ।

सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन् । विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन् । कुनै पनि भ्रममा नपरी अघि बढ्न म आग्रह गर्दछु।’ उनले सत्ता गठबन्धन भत्काउने दाउपेच सफल नहुने दाबी गरे ।

अध्यक्ष नेपालले अब संसद्मा पार्टीको भूमिका स्वाभाविक रुपमा सत्ता पक्षको हुने बताए । नेकपा एस सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा भएकाले सरकार सञ्चालनमा सहयोगी भूमिका हुने उनको भनाइ थियो। ‘हामी सत्ता गठबन्धनसँग सहकार्य गरेर अघि बढ्नेछौं । हामीले संघीय सरकारसँगै प्रदेश सरकामा पनि सहभागी भएर, सहकार्य गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौं,’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरू तल्लो तहसम्म पनि सहकार्यको संस्कृति लिएर जाने बताए । उनले सत्ता गठबन्धनविरुद्ध फैलाइएका भ्रम चिर्दै र लगाइएका आरोपको सशक्त खण्डन गर्दै अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले ५ गते केन्द्रीय समितिको बैठक डाकिएको र उक्त बैठकपछि सम्भवतः आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए । उनले प्रदेश १ र वाग्मती प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेको जानकारी पनि दिए। उनले जुनसुकै बेला पनि ती प्रदेशमा नयाँ सरकार गठन हुने बताए ।

वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्यले सरकारको नेतृत्व गरिरहेका छन् । दुवैजना एमाले विभाजन हुनुअघि नेता नेपालको पक्षमा थिए। पार्टी विभाजनका क्रममा उनीहरू नेपाललाई छाडेर एमालेमै बसेका हुन् । नेपालले विगतमा आफूलाई साथ दिएका र अहिले एमालेमा रहेका नेता–कार्यकर्तालाई नेकपा एसमा आउन सधैँ ढोका खुला रहेको बताए ।

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले एमसिसीका लागि सीमा नाघेर हस्तक्षेप गराउने काम गरेको आरोप लगाए। उनले यस विषयमा जनताको मानसिकतालाई पनि ध्यानमा राखिने बताए ।

अध्यक्ष नेपालले शुक्रबार आयोजित अर्काे एक कार्यक्रममा भ्रममा परेर एमालेमा रहेका नेता–कार्यकर्ता ढिलोछिटो आफ्नो पार्टीमा आउने दाबी गरे । एकीकृत वैदैशिक रोजगार व्यवसायी संगठन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय नेता–कार्यकर्ता अल्मलिएर एमालेमै रहेको र उनीहरू आफ्नो पार्टीमा आउने बताएका हुन् । उनले आफ्नो पार्टी पूर्णतया नयाँ नभई एमालेभित्रको क्रान्तिकारी धार भएको बताउँदै हाल ७७ वटै जिल्लामा संगठन विस्तारको काम भइरहेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !