१५ बैशाख २०८१, शनिबार

लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो


लोकसेवा

काठमाडौं । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ ।

आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको वृत्तिविकास गर्न हरेक वर्ष खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति तथा बढुवाका प्रक्रिया गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको महामारीले गर्दा प्रकाशित भइसकेका पदका लागि परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् ।

त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन ।कोभिडको प्रभाव कम भएसँगै विगतमा स्थगित भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र बढुवाको अन्तिम प्रतिफल पनि प्रकाशित हुने क्रम पनि जारी रहेको छ । आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ गरी दुई वर्ष रोकिएका सबै पदका परीक्षा सञ्चालन भइसकेका छन् ।

ती दुई वर्षका सहसचिव तथा उपसचिव तहका कार्यक्षमता र जेष्ठताको बढुवाको परीक्षाफल प्रकाशित भई पदस्थापन पनि भइसकेको छ भने खुला तथा आन्तरिक प्रतिस्पर्धाका पदमा लिखित परीक्षा सञ्चालन भई परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ ।

प्रवक्ता सुवेदीले भने, “सहसचिव र उपसचिव पदको परीक्षाफल प्रकाशित गर्ने अन्तिम चरणमा पुगेको छ तर शाखा अधिकृतदेखि तल्ला पदका विषयमा अदालतमा मुद्दा परिरहेकोले त्यसको टुङ्गो लागेपछि मात्र बाँकी काम अगाडि बढाइने भएका छन् ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !