११ बैशाख २०८१, मंगलबार

संस्थापनइतर सभापतिका आकांक्षीहरू नेतृत्वका लागि हुने निर्वाचनमा दोस्रो बन्ने रणनीतिमा


केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएसँगै संस्थापन इतरका सभापतिका आकांक्षीहरू नेतृत्वका लागि हुने निर्वाचनमा दोस्रो बन्ने रणनीतिमा लागेका छन्। कांग्रेस विधानअनुसार सभापतिमा विजयी हुन खसेका मतको ५० प्रतिशत कटाउनै पर्छ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत नकटाएमा पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच दोस्रो चरणको मतदान हुन्छ। विधानको यही व्यवस्थाबाट लाभ लिन संस्थापन इतर पक्षका सभापतिका आकांक्षी नेताहरू देउवालाई पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नदिने र आफू दोस्रो स्थानमा रहनेगरी रणनीति बनाउन लागि परेका हुन् ।

नेतृत्वमा दोहोरिने तयारीमा रहेका देउवा भने पहिलो चरणमै ५० प्रतिशत मत कटाएर स्थान सुरक्षित गर्ने रणनीतिमा जुटेका छन्। पहिलो चरणमै सभापतिका लागि आवश्यक मत प्राप्त गर्न नसके दोस्रो चरणमा परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने उनी निकटका नेताहरूको बुझाइ छ। वडा तहबाट छनोट हुने प्रतिनिधिले महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएकाले सभापति देउवासहित संस्थापन पक्षले यति बेला वडा अधिवेशनमै ध्यान केन्द्रित गरेको छ ।

उता संस्थापन इतर पक्षमा सभापतिका आकांक्षी रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेता देउवाको विकल्प खोज्नुपर्नेमा एक मत छन्। तर उनीहरू एकले अर्कालाई छाड्न तयार देखिएका छैनन्। उनीहरू सबैले देउवालाई हराउन आफूले मात्र सक्ने बताउँदै एकले अर्कालाई छाडिदिन आग्रह गरिरहेका छन्।

वडा अधिवेशन पहिला नै संस्थापन इतर समूहबाट साझा उम्मेदवार खडा गर्ने प्रयास असफल भएपछि त्यसको असर तल्लो तहसम्म पर्न नदिन उनीहरूले बिहीबार पत्रकार सम्मेलन गरेर साझा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर आकांक्षीहरूलाई कहाँ कसरी व्यवस्थापन गर्ने र टिम मिलाएर अघि बढ्ने भन्ने ठोस प्रस्ताव कसैले पनि ल्याएका छैनन्।

संस्थापन पक्षबाट पनि देउवाका साथै विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले नेतृत्वमा प्रतिस्पर्धा गर्ने जनाएका छन्। उपसभापति निधिले सम्पर्क कार्यालय नै स्थापना गरेर प्रचार थालेका छन्। यसबाट उत्साहित संस्थापन इतर समूहका नेतृत्व आकांक्षीहरू पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलाग्ने बुझाइमा छन्। देउवालाई पहिलो चरणमै निर्वाचित हुनबाट रोक्न सक्ने अवस्थामा इतर पक्षबाट जतिजना उम्मेदवार हुँदा पनि केही फरक नपर्ने उनीहरूको बुझाइ छ।

झन्डै ४७ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा निधिका पक्षमा ५/६ सय भोट जान सक्ने र यसले देउवालाई पहिलो चरणमै सभापति छानिन रोक्ने विश्लेषण संस्थापन इतर पक्षको छ। पहिलो चरणमै सभापतिमा निर्वाचित हुन २३ सयभन्दा बढी मत आवश्यक पर्छ। यो समाचार आजको नागरिक दैनिकमा पत्रकार बालकृष्ण अधिकारीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !