काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका लागि कोशिस गर्दागर्दै पनि पार्टी विभाजित भएकाले आफूलाई दुःख लागेको बताएका हुन् ।
अध्यक्ष ओलीले माधव नेपालप्रति कटाक्ष गर्दै एमाले फुटाउन सांसदहरुलाई घर–घरबाट थुतेर चन्द्रागिरिमा लगेर थुनेको आरोप पनि लगाए । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशमा धेरै भिन्नता रहेको बताए । उनले आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि संविधानको मर्मअनुसार नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको दाबी गरे ।
तर, अहिले ल्याइएको अध्यादेशमा भने कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दलसम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उनको दाबी थियो ।
ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।