७ बैशाख २०८१, शुक्रबार

अफगानिस्तानको नेतृत्व अब कसले सम्हाल्लान् ?


taliban-capture_afghanistan_president_office1

काठमाडौँ । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ । अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम आएको छ : मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा ।

मुल्ला अब्दुल गनी बरादर तालिबानका संस्थापक नेता हुन् । उनलाई रणनीतिकारको भूमिकामा चिनिन्छ । अमेरिकाले अफगानिस्तानमा सन् २००१ मा आक्रमण गर्दा त्यतिबेला उनी तालिबानको डेपुटी रक्षामन्त्री थिए ।

सन् २०१० फेब्रुअरीमा अमेरिका र पाकिस्तानको संयुक्त अभियानको क्रममा उनी कराँची सहरबाट पक्राउ परेका थिए । अफगानिस्तानको सरकारसँग शान्ति वार्ता हुँदा उनको नाम पहिलो प्राथमिकतामा परेको थियो ।

सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता हुँदा उनी तालिबानको पार्टी प्रमुख थिए । उनले अमेरिकासँग वार्ताको समर्थन गरेका थिए । मुल्ला उमरको विश्वासपात्रका रूपमा उनलाई लिइन्थ्यो । उनी जीवित रहँदासम्म तालिबानका लागि आर्थिक कोष जम्मा गर्ने र दैनिक गतिविधिको नेतृत्वमा रहे ।

त्यस्तै, तालिबानका अर्का नेता हिब्तुल्लाह अखुन्दजादा इस्लाम धर्मका विद्वान मानिन्छन् । उनकै कारण आज तालिबान यो ठाउँमा आएको मानिँदै आएको छ । तालिबानको मुख्य गढ क्षेत्र मानिएको अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारका स्थानीय हुन् ।

सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत संघ (रुस)विरुद्ध अफगानिस्तानको विद्रोहमा कमान्डरको भूमिका निर्वाह गरेका थिए । तर, उनी सैन्य कमान्डरका रूपमा भन्दा एक धार्मिक विद्वानका रूपमा चिनिन्छन् ।

हिब्तुल्लाह तालिबानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरको उत्तराधिकारी थिए । मन्सुरको सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !