१४ बैशाख २०८१, शुक्रबार

जलविद्युतको शेयर बजार कुलमानको पुनरागमनले उकालो लाग्ला त ?


कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् ।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल कुलमानको आगमनले आम लगानीकर्ता उत्साही भएको बताउँछन् । उनको पुनरआगमनले तत्कालै बजार नतताए पनि दिर्घकालीन रुपमा जलस्रोत कम्पनीको कारोबार राम्रो हुनसक्ने अर्यालको अपेक्षा छ ।

विद्युत क्षेत्रलाई राम्रोसँग बुझेको र आम नागरिकको नजरमा बसिसकेकाले पूँजी बजारमा पनि उनको आगमनले सकारात्मक प्रभाव पन नेपाल ईन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल बताउँछन् ।

कुलमानको आगमनले जलस्रोत लगानीकर्ताहरुलाई थप ऊर्जा थपेको छ । तर पूँजी बजार बढ्नमा सबै उनको मात्रै योगदान नभएको लगानीकर्ताको बुझाइ छ । किनभने यसअघिको कार्यकालमा नेपालको उत्पादित विद्युत भारतमा विक्री गर्ने अवधारणा घिसिङले ल्याएका थिए ।

त्यतिबेला विहार वोर्डसँग सम्झौता पनि गरिएको थियो । यसले गर्दा कतिपय खेर जानसक्ने सम्भावना भएका ऊर्जाहरु भारतमा सप्लाई गर्न सफल हुने लगानीकर्ताले आशा गरेका छन् । जसले गर्दा पूँजीबजारमा पनि यस क्षेत्रको कारोबार राम्रो हुने अपेक्षा गरिएको हो ।

यसवाहेक यसअघिको कार्यकालमा कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी जस्ता जलस्रोत कम्पनीमा चासो देखाएका थिए । यसमा कम्पनीको आफ्नो लगानी (ईक्विटी) र बैंकबाट लिन पाउने कर्जा बीचमा धेरै खाडल भएको औंल्याएका थिए ।

कम्पनीहरुले हाल करिब ३० प्रतिशत ईक्विटी र ७० प्रतिशत बैंकबाट कर्जा लिएर लगानी गरिरहेको अवस्था छ । तर यस्ता कम्पनीको ईक्विटी र कर्जाको अनुपात ५०/५० प्रतिशत गर्नु पर्नेमा उनले जोड दिँदै आएका थिए ।

यसरी कर्जालाई केही घटाउने बित्तिकै कम्पनीको खर्च घट्छ । यस्तो खर्च कम हुँदा लगानीकर्तालाई फाइदा हुन जाने शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष अर्याल बताउँछन् । यस्ता समग्र कारणले पनि जलस्रोतमा लगानी गर्नेहरु उत्साही भएको उनको भनाइ छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)का उपाध्यक्ष आशीष गर्र प्राधिकरणका कार्यकारी निर्देशक फेरिँदैमा यसले बजारमा प्रभाव खासै नपर्ने बताउँछन् । सरकारको नेतृत्व परिवर्तन भएर बजारमा प्रभाव पारे जस्तो प्राधिकरणको कार्यकारी निर्देशक आउँदैएर परिवर्तन नहुने उनको तर्क छ ।

यद्यपि गत बुधबार कार्यकारी निर्देशक घिसिङले पदबहालीपछि विद्युत प्राधिकरणको सेवालाई अझ राम्रो बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । दोस्रो इनिङ स्वीकार गरेर उनले प्राधिकरणलाई अगाडि बढाउनुपर्छ भन्ने जनअपेक्षा आएकाले चुनौती स्वीकार गरेको बताएका थिए ।

उनले अनियमिताबारे गुनासा आएको र सुशासन तथा गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्ने विश्वास समेत दिलाएका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा ममता थापाले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !