१२ मंसिर २०८१, बुधबार

समुदाय स्तरमै फैलिन थाल्यो कोरोना संक्रमण


नेपालमा कोरोना संक्रमण दर

काठमाडौं । कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आम नागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् । जसअन्तर्गत प्रदेश १ को मोरङ, सुनसरी, झापा र बाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा, तनहुँ लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले साउनको हालसम्मको अवस्थालाई हेर्दा प्रत्येक चार जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिने गरेको बताए । उनले भने, ‘संक्रमणदर बढ्दो क्रममा रहेको छ । अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम र बेलाबेला मिचीमिची साबुनपानीले हात धुनुपर्छ । संक्रमितको संख्या घटाउन मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।’

निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले मास्कको समुचित प्रयोगबाट महामारी नियन्त्रणमा टेवा पुग्ने बताइन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको भन्दै मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

यस्तै, बुधबार देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १० हजार ९ सय ७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १६ र ५ हजार ७ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । बुधबार ३० जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको छ । हाल ७ सय ९६ जना आईसीयूमा र १ सय ८४ जनाको भेन्टिलेटरमा राखी उपचाररत रहेका छन् । देशभर ३ सय ९९ जना क्वारेन्टाइनमा रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !