८ मंसिर २०८१, शनिबार

राष्ट्रपति भण्डारीसामु भीम रावलको हारगुहार


भीम रावल

काठमाडौं । एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गर्न आग्रह गरिएको छ। एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गर्न आग्रह गरेका हुन्। उनले राष्ट्रपतिसँग करिब तीन घण्टा छलफल गरेका थिए।

स्रोतका अनुसार रावलले विवाद मिलाउन पार्टी अध्यक्ष केपी ओली नै बढी जिम्मेवार हुनुपर्नेमा कार्यदलबाट लगेको प्रस्तावसमेत अस्वीकार गर्ने परिस्थिति बनेको गुनासो गरेका थिए।

 

‘पार्टी बचाउने जिम्मेवारी सबैको हो त्यसका लागि तपाईं (भण्डारी) ले मध्यस्थको भूमिका निर्वाह गर्नुस्। माधव नेपालको पनि प्रतिष्ठा कायम रहोस्। माधव नेपाल पार्टीबाहिर रहे कम्युनिस्ट आन्दोलनलाई घाटा हुन्छ’, रावलको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने।

ती नेताका अनुसार नेकपा एमाले टुक्रिए वाम आन्दोलन छिन्नभिन्न हुनेमा राष्ट्रपति भण्डारी र रावल सहमत भएका थिए। ‘कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रुपमा रहेको एमालेभित्र देखिएको विवादमा ओलीले हदैसम्म पेलेको सत्य हुँदाहुँदै माओवादीसमेत एकीकरण भएपछि बनेको नेकपाले एमालेको विवादलाई थप उत्कर्षमा पुर्‍याएको विषयमा समेत चर्चा भएको थियो’, स्रोतले भन्यो।

भेटमा राष्ट्रपति भण्डारीले पनि रावललाई पार्टी एकताकै पक्षमा निरन्तर प्रयास गर्न आग्रह गरेकी थिइन्। उनले आफूले पनि भूमिका निर्वाह गर्ने वचन दिएकी थिइन्।

राष्ट्रपति भण्डारीसँग भेटघाट गरेपछि रावल ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोटमा उनले आइतबारको केन्द्रीय कमिटी बैठक रोक्न आग्रह गरेका थिए।

ओली बैठक सार्न सहमत भए पनि अन्य विषयमा भने सहमत भएका थिएनन्। नेपाललाई आफूबराबरकै अधिकार दिने विषयमा ओली मौन रहे। ओली निकटका ईश्वर पोखरेलले यसअघि नै नेता नेपाललाई बराबरी अधिकार र दोस्रो अध्यक्ष स्वीकार गर्न नसकिने धारणा राखिसकेका छन्।

नेपालले दोस्रो अध्यक्षभन्दा अधिकारको विषयमा जोड दिएका छन्। राष्ट्रपति भण्डारीले दुवै पक्षलाई सहमतिमा आउने विन्दु पहिल्याउन रावललाई आग्रह गर्दै तत्काल विभाजनतिर जान नहुने राय दिएकी थिइन। रावलको सक्रियतापछि एमालेले आइतबार डाकेको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको भए पनि सोमबारलाई बोलाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !