काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन ।
संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ ।
काठमाडौं उपत्यकाभित्र संक्रमण रोकथामका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो ।
त्यस दिन अर्थात् २२ असारमा सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ रहेको थियो । यो संख्या बढेर शुक्रबार २७ हजार ६ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । जबकि स्वास्थ्य मन्त्रालय गत २२ असारमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीबीचको बैठकमा निषेधाज्ञा खुकुलो गराउने निर्णय हुँदा सरोकारवाला निकायले असन्तुष्टि व्यक्त गरेका थिए ।
यता पछिल्लोपटक शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । लामो दूरीका सवारी साधन सञ्चालन गर्दा उपत्यकाबाहिरका व्यक्ति सहज रूपमा उपत्यका भित्रन सक्ने हुँदा संक्रमण दर बढ्ने अनुमान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले निषेधाज्ञा खुकुलो भएको अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्रयाइँ भएकाले संक्रमणदर जति घट्नुपर्ने हो त्यति नघटेको बताए । उनले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान नदिने हो भने स्थिति भयावह हुन सक्ने संकेत पनि गरे ।
जनस्वास्थ्यविज्ञ डा. महेश मास्केले पनि जनस्वास्थ्यका मापदण्ड पालनामा गम्भीर हुनुपर्नेमा जोड दिए । रोकथामका उपाय मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेजस्ता कामलाई निरन्तरता दिनुपर्नेमा पनि उनले जोड दिए ।
यसो भनिरहँदा उनले संक्रमण रोकथामका लागि बन्दाबन्दी स्थायी समाधानको उपाय नभएको पनि बताए । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण अझै बढ्न सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नै संक्रमण रोकथामको उत्तम विकल्प रहेको बताए ।
डा. पुनले समुदायमा भित्रभित्रै संक्रमणदर फैलिने खतरा बढेको भन्दै कोरोनाविरुद्धको खोप अभियानलाई व्यवस्थित गरिनुपर्ने बताए । उनले सरकारले संक्रमण रोकथामका लागि कार्ययोजना ल्याउनुपर्ने र त्यसको पूर्ण पालना हुनुपर्ने बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।