३ असार २०८१, आइतबार

जसपा विवादको छिनोफानो यसैसाता


जसपाको बैठक निष्कर्षविहीन

निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । सो इजलासले आइतबारबाट जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले जसपा विवादबारे इजलासमा सुनुवाइ सुरु भएकाले आधिकारिकताको छिनोफानो गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

‘आयोगले इजलास गठन गरेर जसपा विवादबारे सुनुवाइ सुरु गरिसकेको छ, आवश्यक सक्कल कागजात मगाएका छौं, छिट्टै निर्णय हुन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादबारे टुंगो लगाउन इजलास सुरु भइसकेको र दुवै पक्ष बहसमा सहभागी भएको जानकारी दिए ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाअनुसार प्रमुख आयुक्तको संयोजकत्वमा इजलास गठन गरेको थियो । इजलासमा आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा छन् ।

यसअघि भने आयोगले जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षलाई बोलाएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (४) को व्यवस्थाअनुसार सहमतिको प्रयास गरेको थियो ।

सो छलफलमा जसपाका दुवै पक्ष सहमत नभएपछि आयोगले कानुनी प्रक्रियामार्फत विवाद निरुपणका लागि इजलास गठन गरेको हो । इजलास गठन भएको ४५ दिनभित्र विवाद निरुपण गरिसक्नुपर्ने कानुनी प्रावधान छ । यो समाचार राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !