७ मंसिर २०८१, शुक्रबार

कोरोना संक्रमितभन्दा संक्रमणमुक्त दर बढ्दो


कोरोना संक्रमणमुक्त

काठमाडौं । दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या अत्यधिक रहेको पाइएको हो ।

२९ जेठमा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २ सातामा ३८ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि हुँदा ५५ हजार ५ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा संक्रमित निको हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४ सय १३ जना संक्रमित निको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७६ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९ सय ४५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार लक्षण देखिएर परीक्षण गराउनेको संख्यामा कमी आएको छ ।

यसैबीच, २२ असारदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पहिलो मात्रा खोप लगाएका नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइनेछ । ३ लाख ७० हजार जेष्ठ नागरिकले भेरोसिलको पहिलो मात्रा लगाएका थिए ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउनेछन् ।

संक्रमण रोकथामका लागि खोप प्रभावकारी मानिए पनि स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७७ हजार ९ सय ६५ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, ७ लाख ४९ हजार १ सय ३६ जनाले दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम कायम नै रहेको भन्दै भौतिक दूरी कायम, व्यक्तिगत सरसफाइ र मास्कको समुचित प्रयोगमा ध्यान दिन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !